थारू बाहुल्य रहेका जिल्लामा अट्वारी पर्व धुमधामका साथ मनाउँदै

देउखुरी (दाङ)। दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर ९भिन्सर्या० खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ ।
महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमका नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताए । उनका अनुसार अट्वारी पर्व थारू समुदायको दसैँपछिको ठूलो चाड भएकाले यसको महत्त्व धेरै रहेको छ । “चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवान्हरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ”, उनले भने ।
अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूललगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन रहेको घोराही उपमहानगरपालिका–६ का अगुवा भीमबहादुर चौधरी बताउछन् । छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।
सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरू मध्याह्न नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरू स्नान गर्न गएको बेला घरमा गोबरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरू स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाले खानेकुरा दिन्छन् । व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछिमात्र खान्छन् । जसरी भीमले बहिनीका लागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारूले एक भाग दिदीबहिनीका नाममा छुट्याएर अर्को भाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।
थारू कल्याणकारीणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले दाजुभाइ र दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताए । “दिदीबहिनी र दाजुभाइ बीचमा माया, ममता, सद्भाव र भ्रातृत्व जगाउने पर्वका रुपमा अट्वारीलाई लिइन्छ,” चौधरीले भने । अट्वारीका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा बिदा दिएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया