शुक्रबार, फागुन ८, २०८२

आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

मेरोन्यूज २०८१ असोज ४ गते १९:५४

कटारी। उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र  उनका ६ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो। ‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरु फर्किनुभएको हो,’ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने।

उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए। त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। 

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ। आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ। 

‘प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ,’ उपरीक्षक योगीले भने, ‘घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ।’

प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। कटारी अस्पतालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुर्‍याउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए।

मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए। अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन्। 

प्रतिक्रिया