मंगलबार, फागुन १२, २०८२

अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही

मेरोन्यूज २०८१ असोज १६ गते १२:४०

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल(फार्मेसी)हरुलाई कारबाही गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले सुरु गरेको यहाँका औषधि पसलहरुको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो ।

भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए ।

अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु ३० हजार बराबरका औषधि जफल गरी रु १० जरिवाना गरिएको उनले जानकारी दिए। उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तामक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो ।

त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका रु ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ ।

त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहींको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ ।

सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि रु एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ ।

सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।

अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरु तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताए।

प्रतिक्रिया