सोमबार, वैशाख ७, २०८३

आजबाट नवरात्रसुरु, कुन दिन कुन देवीको पूजा कसरि गर्ने ?

मेरोन्यूज २०८१ असोज १७ गते ९:०७

काठमाडौं– आजबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैँको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न विजयादशमी मनाउने शास्त्रीय विधान छ ।शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभमुहूर्तमा घडा स्थापना गरी घडाको नजिक जाै बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधनापश्चात् प्रसादस्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने देवीभागवतमा बताइएको छ ।

आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरूको शास्त्रमा व्याख्या गरिएको छ । यी चार नवरात्रहरूमा आषाढशुक्ल र माघशुक्लपक्षका तिथिहरुलाई गुप्तनवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्रशुक्ल र आश्विनशुक्ल पक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्दा विशेष फलदायी रहने उल्लेख गरिएको छ । नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि कुन भगवतीको पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ ।

सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ।’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गासप्तशतीको देव्या कवचमा बताइएको छ ।

नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

नौ दिनसम्म कुनकुन देवीको पूजा आराधना गर्ने ?

पहिलो दिन 
नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ । यदि लामो आयु र कुनै प्रकारको दीर्घ रोगबाट बच्नका लागि शैलपुत्रीको पूजा आराधना गरी गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ । 

दोस्रो दिन 
कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन ब्रह्मचारिणी मातालाई सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्‍ट नास हुने बताइएको छ । 

तेस्रो दिन
दुःख–कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशीर्वाद सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ । 

चौथो दिन 
चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ या नबोल्ने बालकहरूका लागि रोकिएको वाणी खुल्ने छ। उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ । 

पाँचौँ दिन 
पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिन केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ । 

छ्रैटौँ दिन 
आकर्षण, सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति छन् भने विवाहमा बाधा अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ । 

सातौँ दिन 
कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नास हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा उल्लेख छ ।

आठौँ दिन
घटस्थापनाको आठौं दिन महागौरी भगवतीको पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ। उक्त दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा पनि शास्त्रमा वर्णन गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने पनि बताइएको छ ।

नवौँ दिन 
घटस्थापनाको नवौँ दिन अर्थात् नवमी तिथिका दिन घ्यू चढाएर पूजा आराधना गरेमा अकालमृत्युबाट बच्नको लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्न सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । यस दिन पायस अर्थात् गाईको दुधबाट बनाइएको खिर भोग लगाएमा हरेक प्रकारका कार्य सफल हुने उल्लेख गरिएको छ। 

प्रतिक्रिया