पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रूपमा पनि परिचित थियो । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।
जङ्गलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईबस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँभन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए । “हामी तन्नेरी हुँदासम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भने, “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत् सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।”
समुन्द्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तव्य हो । काठमाडौँबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तनरमन दुवै चंगा बनाएको अनुभव सुनाए। “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उनले भने ।
“बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृश्य जति हेरे पनि धितै मर्दैन ।” ऋतु, मौसम र समय अनुसार टोड्केमा फरक फरक दृश्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसको दृश्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुर पाइजाले बताए ।
“पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सूर्योदय र सूर्यास्तका समयमा फरक फरक दृश्य देखिन्छ,” उनले भने, “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”
स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्त्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ ।
मगरको पुर्ख्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । “वनभोज खान जानेहरूका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उनले भने, “खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।”
टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए । दसैँ तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरू टोड्के आउने गरेका उनले बताए । नव विवाहित जोडीहरूको लागि टोड्के हनिमुन गन्तव्य बनेको उनले बताए ।
तालिम गोष्ठी सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत्, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्वारी आश्रमको तीर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कँदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।
बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ ।
२९ किलोमिटर दुरीको बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।
पैदलयात्रा गर्न चाहनेहरूका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।
टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए ।
टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रूपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्त्वपूर्ण बैकल्पिक रुटका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।
सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरू मासिँदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«किङ व्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र गण्डकीले टोड्केको प्रवर्द्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रवर्द्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए ।
टोड्के र झिँका बासिन्दाहरूले टोड्के विकास कोष गठन गरी दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्र्याउन अगुवाइ गरेका छन् ।
















42 days to go for HoR elections: Complaints against nominations being investigated
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
Three people killed in separate accidents
पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया