मंगलबार, वैशाख १५, २०८३

रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

मेरोन्यूज २०८१ असोज २३ गते २१:२०

काठमाडौं। रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ लण्डनमा समावेश गरिएको छ।

Advertisement
NiccNicc

भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका–५स्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा अवस्थित कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो। गत जेठ १६ गते सगरमाथा दिवसका अवसरमा आयोजित उक्त रेस्लिङ प्रतियोगितामा भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच भीडन्त भएको थियो। उक्त भीडन्तमा भगवती विजयी भएकी थिइन्। सोही कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डसमा समावेश गरिएको हो।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान् बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व कीर्तिमान भएको जानकारी दिइन्। उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन्।

वर्ल्ड बुक अफ रेकर्ड्स, लण्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे। ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पनि कीर्तिमान् समावेश गर्न पहल भइरहेको भगवतीले जनाएकी छन्।

प्रतिक्रिया