मंगलबार, वैशाख १५, २०८३

साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित

मेरोन्यूज २०८१ कार्तिक १ गते २०:५७

काठमाडौँ। काठमाडौँमा आज (बिहीबार) देखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

Advertisement
NiccNicc

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो। भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो। खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन्।

त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन्। भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४-० को अवस्थामा पुर्‍याइन्।

खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन्। भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो। खेलको पहिलो हाफसम्म ४–१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने संकेत देखाएकी थिइन्। तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो। भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५-२ को अग्रता दिलाइन्।

जितसँगै भारतले प्रतियोगितामा तीन अंक जोडेको छ। प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स रहेका छन्।

शुक्रबार दिउँसो १ः३० बजे पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच तथा दोस्रो खेल साँझ ५ः३० बजे नेपाल र भुटानबीच हुनेछ।

प्रतिक्रिया