बिहीबार, वैशाख १७, २०८३

पर्वतमा राति नौ बजेपछि देउसी खेल्न रोक 

मेरोन्यूज २०८१ कार्तिक १६ गते १६:३८

काठमाडौँ । दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पुर्‍याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ।

Advertisement
NiccNicc

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू राति नौ बजेभित्र शान्तिपूर्वक रूपमा मात्रै सञ्चालन गर्न भनिएको छ।

चाडपर्वहरू मनाउने क्रममा कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय देखिने कार्य नगरी स्वतन्त्र र खुसीयाली पूर्वक चाडपर्व मनाउन, शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न प्रशासनले अनुरोध गरेको छ।

चाडबाडको बहानामा जुवा तास खेल्ने खेलाउने काम नगर्न, आतिसबाजी, भुईचम्पा, पटका जस्ता विस्फोटक पदार्थ प्रयोग तथा ओसारपसार नगर्न, मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झैँ-झगडा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। त्यस्तो गरे वा गराएको पाइएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयलाई खबर गर्न भनिएको छ।

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माद्वारा जारी सूचनामा भिडभाडजन्य गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापजन्य कार्यहरू नगर्न, अखाद्य रङ्ग मिलाइएका मिठाई, झिलिङ्गा रोटी जस्ता अस्वस्थ र गुणस्तरहीन खाद्यपदार्थहरूको विक्री वितरण र उपभोग नगर्न र नगराउनुहुन पनि अनुरोध गरिएको छ।

प्रशासनले प्रतिबन्ध लगाएका कुराहरूमा अवज्ञा गरी कुनै गतिविधि तथा क्रियाकलाप भए गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख छ।

प्रतिक्रिया