नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्याली

काठमाडौँ । नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ ।
विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्याली निकालिएको हो । राजधानीका विभिन्न स्थानमा अहिले निकालिएको र्यालीले सहर परिक्रमा गरिरहेको छ । र्यालीमा बालकदेखि वृद्धसम्म सांस्कृतिक वेषभुषामा खुसी साट्दै हिँडेको देखिन्छ ।
नेपाल संवत्लाई हाल विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०)मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए ।
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरले जानकारी दिए ।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशका नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्दगरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।
यही परम्पराअनुसार शुक्रबार बही खाता बन्द गरेका काठमाडौँ उपत्यकाका नेवार समुदायले आजदेखि नयाँ बही खाता खेल्दैछन् । यसरी नेवार समुदायले नेपाल संवत्को नयाँ वर्ष मनाउँदैछन् । गत वर्षदेखि नै नेपाल संवत्लाई सरकारी कागजातमा अनिवार्य रूपमा उल्लेख गर्न थालिएको छ ।


















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया