सोमबार, वैशाख १४, २०८३

एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री, डिजिटल प्लाटफर्ममा हेर्न आग्रह

मेरोन्यूज २०८१ मंसिर १४ गते १९:५३

काठमाडौँ। शनिवारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ। खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। 

Advertisement
NiccNicc

क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको बताएका छन्।

उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, “क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन्। कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ।”

सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्न आग्रह गरेका छन्। साथै, उनले शनिवार हुने खेलको पासका लागि सम्पर्क नगर्न अपिल गरेका छन्।

उद्घाटन खेलका लागि १० हजार वटा टिकटमध्ये भिआइपीतर्फका आठ सय र सामान्यतर्फका नौ हजार दुई सय टिकट बिक्री भएको क्यानले जनाएको छ।

शनिवार हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

प्रतिक्रिया