शनिबार, चैत ७, २०८२

म्याग्दीको दुर्गम क्षेत्र चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

मेरोन्यूज २०८१ मंसिर २२ गते ८:३५

बेनी । रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी छन्। गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने पुनको भनाइ छ ।

Advertisement
nepal life insurencenepal life insurence

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसियाली मनाएका छन् । गाउँपालिका र संघीय सरकारको रु एक करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुई तले सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको हो ।

भवन निर्माण भएर सेवा सञ्चालनको उपलक्ष्यमा स्थानीयले नौमती बाजासहित नाचगान गरेर खुसियाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहजरुपमा स्वास्थ्योपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ वर्षीय मनिराम पुनले बताए । 

चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आवश्यक सामग्रीको बन्दोबस्त गरी नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको बताए। 

उनले भवनमा थप औजार उपकरण र औषधिको उपलब्धता गराएर स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए ।

भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड पाँच लाख ४० हजार चार सय ४२ र संघीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार पाँच सय ९० लगानी भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरु भएको स्वास्थ्यचौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती/मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायी प्रदीप पाइजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गरेका हुन्। उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि विजय भट्टचनाले स्वास्थ्यचौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तरण गरेका छन् । 

भवनमा बिरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधि भण्डारण, कर्मचारी आवासलगायतको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगनसँगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरू रहेकाले बिरामीको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहजरुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्यचौकीका प्रमुख हिस्टुरी पाइजाले जानकारी दिए । 

नवनिर्मित स्वास्थ्यचौकी भवनमा बर्थिङ सेन्टरसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यसअघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न लागिएको वडाध्यक्ष थकबहादुर पाइजाले जानकारी दिए । 

रघुगङ्गा गाउँपालिकामा वडा नम्बर १ बेगबाहेकका सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । भौगोलिक विकटता रहेको र स्वास्थ्यचौकीमा पुगेर सेवा लिन घन्टौँ हिँड्नुपर्ने ठाउँका नागरिक लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ । 

प्रतिक्रिया