सोमबार, वैशाख १४, २०८३

गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग

मेरोन्यूज २०८१ माघ ७ गते १७:२६

काठमाडौँ। राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

Advertisement
NiccNicc

पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकलस्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।”

साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ । “अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरूद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया