देश बनाउने अभियानको अगुवाइ युवाहरूले गर्नुपर्छ: महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आज आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरूले गर्नुपर्ने बताए ।उनले भने, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरूलाई साथमा लिएर हिँड्न सक्नुपर्छ । अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ ।”
महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वभाविक भएको बताए । उनले भने, “धेरैलाई दुई ठूला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ । जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो ।”
उनले काँग्रेस-एमाले सधैँ भरिका लागि नमिलेका पनि उनले स्पष्ट पारे । जनताका बीचमा जाने बेलामा नेकपा (एमाले) र नेपाली काँग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गरे । देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो । “ठूला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उनले भने, “देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ”, पोखरेलले बताए ।
एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उनले भने, “एमालेको नीति मुलुकको नीति बन्नुपर्छ । एमालेको ‘मिसन-८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो ।”
त्यस अवसरमा युवा संघको पूर्वअध्यक्ष महेश बस्नेतले युवा संघ बौद्धिक मात्र नभई प्रतिरोधी संगठन रहेकाले राज्यलाई सचेत बनाउनमा पनि सक्रिय रहने बताए । उनले भने, “संघले उठाएका मुद्दाहरू राष्ट्रिय ‘एजेन्डा’ बन्छन् । सामाजिक न्यायमा योगदान दिन, सिर्जनशील र रचनात्मक बाटोमा संघ लाग्नुपर्छ ।” उनले आफूहरू सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको उल्लेख गर्दै सत्य सूचना जनतामा पुग्नुपर्ने र व्यक्तिको चरित्र हत्या हुने गरेर अप्रमाणित विषयवस्तुबारे मिडियालाई बोल्ने छुट नभएको बताए ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले युवाहरूलाई नीति निर्माणमा सहभागी गराउँदै रोजगारी सृजना, आत्मनिर्भर र उद्यमशीलताका योजनालाई अघि सार्न भेलाको आयोजना गरिएको बताए ।
संगठनका इन्चार्ज राजीव पहाडी यो भेलाले नेपाली युवा आन्दोलनलाई सकारात्मक दिशामा अगाडि बढाउनका निम्ति मार्गदर्शन दिने बताए । उनले भने, “युवा संघले उठाउँदै आएका मुद्दा र आन्दोलनको विषय जायज छन् । सामाजिक सञ्जालमा गलत क्रियाकलाप र नकारात्मक कुराको भण्डाफोर गर्दै सकारात्मक सन्देश प्रवाह गर्न म युवाहरूलाई आग्रह गर्छु ।”
त्यस अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका तीन जनालाई सम्मान पनि गरिएको थियो । जसमा क्रिकेटमा योगदान पुर्याउने पारस खड्का, पारा ओलम्पियन पलेसा गोवर्द्धन र सञ्चार क्षेत्रमा योगदान पुर्याउने असगर अलीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया