आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व

काठमाडौं। माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ ।
भीमा अथवा जया समेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयु वृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ–
स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम् ।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।
Advertisment
अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन्! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरि दिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन ।
यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ । यस्ता पवित्रतम स्थानमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ ।
एकादशीका विषयमा कूर्मपुराणमा भनिएको छ,–
व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः ।
अर्थात् व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ ।
श्रीमद्भगवद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरु भगवान् श्रीकृष्णको देशना छ–
यज्ञदानतपः कर्म न त्याज्यं कार्यमेव तत् ।
अर्थात् यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुँदैन । शास्त्रमा तप अन्तर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ ।
एकादशी व्रतको उत्पत्ति
एकादशी व्रतको प्रारम्भ कसरी भयो? यस सम्बन्धमा पद्मपुराणमा उल्लेखित कथाअनुसार, एक पटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान् श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौँ यज्ञको अनुष्ठानको तुलनासमेत गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका लागि निर्देशन दिए ।
एकादशीका लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्ममुहूर्तमा उठेर “जया नाम्नीती विख्याता सर्व पापहरा परा” मन्त्र जप्नाले श्राप हटेर जाने विश्वास गरिन्छ ।
त्यसैले आफ्नो नित्य कर्म सकी स्नान गरेर प्राणायाम, पवित्र कुशको औँठी धारण, तिलक धारण, जपसकी लक्ष्मीनारायण, माधवनारायण भगवान्को सेवा, पूजा गरी दिनभर कथा श्रवण, सत्संग गर्दै उपवास बसेर बेलुका सन्ध्या जप सकेर भगवान्को विग्रहमा रातभर दीपमालिका, भजन, कीर्तन जाग्राम बसी त्यसको भोलिपल्ट गोदान, पूर्णपात्र सकी ब्राह्मण दम्पतीलाई इच्छाअनुसार भोजन गराउनुपर्दछ ।
यसरी व्रत गर्ने व्यक्तिलाई “पवित्रा पापहन्त्री च पिशाचत्वविनाशिनी, नैव तस्या व्रते चिर्णे प्रेतत्वं जायते नृणाम्” अर्थात् जयाको व्रत गर्नेलाई पिशाच हुनुपर्ने भए पनि त्यो पिशाचत्वबाट छुटाउने बताइएको छ ।
माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ? र यस एकादशीको के महत्व छ? यस विषयमा श्रीकृष्णले धर्मराज युधिष्ठिरलाई बताएअनुसार, माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भनिन्छ । यो एकादशी अति नै पुण्यदायी छ । यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुन्छ भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।
प्रतिक्रिया