‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

भारत । यमुना र गंगा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढा टाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आई पुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।
एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नान स्थलमा भगवानको नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गंगा र यमुनासँगै सरस्वती नदीको संगम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए । दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोक चोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उनले भने ।
प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिको दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उनले भने । हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् । नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उनले जानकारी दिए । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उनको अनुमान छ ।
महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवर्द्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताए । महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथ बाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसै गरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताए ।
चुस्त व्यवस्थापन
विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्ने गरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु. ७५ अर्ब खर्च गरिसकेको छ ।
के हो महाकुम्भ?
आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशंक राचार्यले महाकुम्भको सुरुआत गरेका थिए । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ ।
प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको संगममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।
त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो । सोही संघर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रूप लिएका थिए। त्यसपछि जब देवता र राक्षसहरूबीच संघर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रूप धारण गरी राक्षसहरूबाट अमृत कलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया