आइतबार, चैत ८, २०८२

पदक विजेता महिला कबड्डी टोलीको स्वागत

मेरोन्यूज २०८१ फागुन २७ गते १५:३०


काठमाडौं। छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको  छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Advertisement
nepal life insurencenepal life insurence


इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो । सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो ।
फागुन २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भयो । भारत पहिलो र इरान दोश्रो स्थानमा रहे । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।


सदस्य–सचिव घिसिङले एसियाली खेलकुदमा कबड्डी टोलीलाई सहभागी गराएकोमा आफूले धेरै आलोचना खेप्नु परेको स्मरण गर्दै भने– ‘१९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराउदा मैले धेरै आलोचना खेप्नु परेको थियो । एसियाली खेलकुदमा नेपालले पदक जितेर इतिहास नै रच्यो । आज फेरी महिला टोलीले एसियाली च्याम्पियनसिपमा पदक जित्दै मेरो निर्णय सही सावित गर्दै सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको छ । बधाई छ तपाईहरुलाई । अब म टोलीले विश्वकपमा पदक जितेको हेर्न चाहन्छु ।’


सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए ।


टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।


प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।


खेलाडीमा मानमतिसहित जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् । अफिसियलमा कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा छन् भने नितु गुरुङ निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया