शनिबार, फागुन २३, २०८२

वरिष्ठ पत्रकार बस्नेतको अन्त्येष्टि, सभापति देउवाद्वारा दुःख व्यक्त

मेरोन्यूज २०८१ चैत ८ गते १८:३६

काठमाडौँ । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जलि सभामा कांग्रेस नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार, कांग्रेस नेता नारायणप्रकाश साउद, प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सांसद एवं कांग्रेस नेताहरूका साथै कार्यकर्ता, शुभेच्छुक र पत्रकारले श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष बस्नेतको आज बिहान उपचारका क्रममा निधन भएको हो ।

यसैबिच वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाले दुःख व्यक्त गरेका छन्।

नेपालमा लोकतन्त्र स्थापना, पार्टी सङ्गठन तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । देउवाद्वारा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बस्नेत कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्वसदस्य, नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धासमेत थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी स्वर्गीय बस्नेत गणेशमान सिंहको नजिकमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।

बस्नेतको हृदयघातका कारण ७९ वर्षको उमेरमा आज बिहान काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया