भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा

काठमाडाैं। राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छिन् । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइरहेको छ ।
एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।
एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन् ।
प्रतियोगिता संयोजकसमेत रहेकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् । उनले भनिन्, ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।’ एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।
विशेषगरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो’, शाहीले भनिन् ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई रु ५० हजार र उपविजेतालाई रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले रु तीन हजार प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान रु दुई हजार र महिलातर्फ समान रु एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क रु छ हजार ५०० र महिलातर्फ रु तीन हजार ५०० तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।
हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया