सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

कञ्चनपुर । देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाइँदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ ।
देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिएको हेमराज पाण्डेयले बताए ।
“बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ”, उनले भने, “देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने बिस्तारै हराउँदै गएको छ ।”
उनका अनुसार एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको उनले बताए। बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।
यस अवसरमा बूढापाका गङ्गास्नानका लागि भारतको हरिद्वारलगायतका प्रसिद्ध धार्मिक क्षेत्रमा स्नानका लागि जाने चलन पनि पुरानै रहेको पाण्डेयले बताए । भारतलगायत अन्य क्षेत्रमा काम विशेष र रोजगारीका लागि गएका घर फर्कने भएकाले परिवारमा रौनकता छाउने गर्दछ ।
अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरूले पुतला खेल (नाच)देखाउने गर्दछन् । बिसुमा पुतला नाच देखाउने कार्य पुस्तौँदेखि चल्दै आएको अमरबहादुर साउदले बताए । पुस्तौँदेखि चल्दै आएको पुतला नाच भने बिस्तारै लोप हुँदै जान थालेकाले यसलाई जोगाउनका लागि युवापिँढीलाई अग्रसर गराउनुपर्ने उनको भनाइ रहेको छ । यसै पर्वका अवसरमा शक्तिपीठमा पशु बलि दिने चलन पनि रहेको छ ।
सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ । बसाई सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ ।














Three killed in separate incidents
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया