आइतबार, वैशाख १३, २०८३

चिनियाँ राष्ट्रपति सी कम्बोडियामा

मेरोन्यूज २०८२ वैशाख ४ गते १४:५९

चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ।

Advertisement
NiccNicc

स्रोतका अनुसार चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयासस्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमणपछि कम्कोडिया पुगेका हुन्।

बिहीबार नोम पेनको विमानस्थलमा उनलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए।

राष्ट्रपति सीले पूर्व नेता हुन सेन र उनका छोरा तथा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो।

नोम पेन एसियामा चीनका भरपर्दो समर्थक हुन मानेटले सीको भ्रमणलाई अर्थपूर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गरेका छन्।

उनले दुई देशबीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताए। यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले ‘महत्वपूर्ण भूमिका खेलेको पनि बताए। उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षगाँठ मनाउँदै छन्।

चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणापछि विश्वव्यापी रुपमा यस विषयमा बहस भइरहेको छ।

प्रतिक्रिया