शनिबार, वैशाख ६, २०८२

जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने

मेरोन्यूज २०८२ वैशाख ५ गते २१:१७

काठमाडौं ।  खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । 

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिइने र कार्यान्वयनमा पारदर्शिता तथा परिणाममुखीता सुनिश्चित गरिने स्पष्ट पारे ।

‘खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा, नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा अघि बढ्नेछौँ,’ मन्त्री यादवले भने।

उनले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले अगाडि सारेका योजनाहरूले जनस्वास्थ्य, जीवनस्तर र वातावरणीय दिगोपनमा अतुलनीय योगदान पुर्‍याएको उल्लेख गरे । ‘खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै प्रयासमा मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ,’ उनले थप गरे ।

बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै मन्त्री यादवले यस संस्थाले दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ परिपक्वताको चरणमा प्रवेश गरिसकेको बताए। ‘सुरक्षित, दिगो र समावेशी खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित अघि बढेको यो यात्रा चुनौती, कठिनाइ र अवसरको सङ्गम हो,’ उनले भने, ‘तर प्राप्त सफलताहरू सम्पूर्ण नेपालीको गौरवको विषय बनेका छन्।’

उनले खानेपानीलाई केवल सेवा नभई नागरिकको आधारभूत हकका रूपमा लिँदै दीर्घकालीन दृष्टिकोणसहित समन्वयात्मक नीति, योजना र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए ।

सो अवसरमा खानेपानी मन्त्रालयकी सचिव ई। प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पुर्‍याउँदै आएको उल्लेख गर्दै अझ धेरै काम बाँकी रहेको बताइन्। ‘जनताको मन जित्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन्।

कार्यक्रममा कार्यकारी निर्देशक डा.शञ्जिव विक्रम राणाले हालसम्म बोर्डले गरेका कामहरूको जानकारी गराउँदै ४०० भन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना गरी करिब एक लाख नागरिकलाई लाभ पुगेको बताए।

२०३ वटा ढुङ्गेधारा, इनार र कुँवाको संरक्षण तथा पुनर्संरचनाले सांस्कृतिक र सामुदायिक जल स्रोतहरू पुनर्जीवित गराएको, ३१ स्थानमा पानी एटीएम प्रणालीमार्फत सर्वसुलभ र गुणस्तरीय पिउने पानी उपलब्ध गराइएको उनले जानकारी दिए । 

त्यस्तै, ७४४ वटा डिप ट्युववेलको अनुमतिपत्र वितरण, डिजिटल म्यापिङ तथा मोबाइल एप प्रयोगमार्फत जलस्रोत व्यवस्थापन, सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र निर्माण, ७४.७ किलोमिटर पाइपलाइन र ९ वटा पानीपोखरी निर्माण कार्य सम्पन्न भएको तथा उपत्यकाको सन् २०५० सम्मको गुरुयोजना तय भइसकेको जानकारी उनले दिए ।

यद्यपि, पुराना पाइपलाइन संरचनाबाट पानी चुहावट र नोक्सानी, असमान वितरण प्रणाली, भूमिगत जलको अत्यधिक दोहन तथा तीव्र शहरीकरणले जलसन्तुलनमा गम्भीर असर पु¥याएको र ट्याङ्करमार्फत आपूर्तिमा गुणस्तर र मूल्यको असमानता अझै प्रमुख चुनौतीका रूपमा रहेको समेत उल्लेख गरियो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख अशोककुमार पौडेल, खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया