नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् ।
काठमाडौंको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्य अनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिनुभयो । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे ।
उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै शुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए ।
कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए ।
प्रतिक्रिया