‘पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका महत्वपूर्ण‘

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताएका छन्।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘डिजिटल युगमा नेपाली पर्यटन उद्योगमा महिला’ विषयक कार्यक्रममा उनले महिलाले पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए। मन्त्री पाण्डेले आगामी वर्षको बजेटमा पर्यटन विकास र समृद्धिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे।
‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ,’ उनले भने। उनले निजी क्षेत्रलाई विदेशी मुद्रा आर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गरे।
राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन इन्टरनेटको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। ‘हामी १६औँ योजना कार्यान्वयनमा छौँ, सोहीअनुरुप नीति तथा कार्यक्रम तर्जुमा गरेर अघि बढेका छौँ महिलाको योगदानबाट पर्यटनका साथै विकास निर्माणका कार्यक्रमले चाँडो गति लिन्छन् । आर्थिक विकासमा पनि महिलाको भूमिका महत्वपूर्ण छ,’ उनले भनिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिलालाई पर्यटन क्षेत्रले रोजगारी दिएको तथ्याङ्क प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने बताइन्।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनमा महिलाको सहभागिता बढिरहेको र डिजिटल माध्यमले काम सहज भएको बताए।
प्रतिक्रिया