शुक्रबार, वैशाख १२, २०८२

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मेरोन्यूज २०८२ वैशाख १२ गते १२:३४

मुस्ताङ। मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका वि.सं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।

वि.सं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९.७६ प्रतिशतले बढेर १ लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३.७१ प्रतिशतले बढी छ ।

गत वर्ष सार्क राष्ट्रबाट १ लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा ८ हजार १८७, साउनमा ३ हजार ५५८, भदौमा ६ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा ७ हजार ५५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न । साथै पुसमा ६ हजार ९७५, माघमा ३ हजार ५१७, फागुनमा ९ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।

एक्याप जोमसोमका अनुसार वि.सं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ थिए ।

केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ । कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ ।

मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् । कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।

प्रतिक्रिया