शनिबार, वैशाख २०, २०८२

राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस

मेरोन्यूज २०८२ वैशाख १९ गते १४:०६

बेलायत ।बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजधानी लण्डनस्थित बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना समेत सुनाए ।

राजदूत घिमिरेले बिहीबार एक औपचारिक कार्यक्रमबीच आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश सुनाएको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवसरमा राजाको व्यक्तिगत कल्याण साथै बेलायती जनताको दीगो समृद्धिका लागि राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले शुभकामना पठाएको राजदूत घिमिरेले भने । राजा चार्ल्सले राजदूत घिमिरेलाई बधाई दिँदै नेपालसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न बेलायत प्रतिबद्ध रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

राजा चार्ल्सले सन् १८१६ मा स्थापित दुई राष्ट्रको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै नेपालको विकास प्राथमिकता साथै प्रगतिको लागि समर्थन जनाए । उनले नेपालसँगको आफ्नो सम्बन्ध र नेपाल भ्रमणका क्षणहरुसमेत सम्झिए ।

राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दी बढी मित्रतामा अझ प्रगाढ हुनेमा विश्वास व्यक्त गर्दै नेपालको सामाजिक–आर्थिक विकासका पहलमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता जनाए । उनले आपसी हितका क्षेत्रमा सहकार्य र समन्वय बढाउन नेपाल प्रतिबद्ध रहेको समेत जनाए ।

समारोहमा राजदूतका श्रीमती सरिता न्यौपाने घिमिरे, दूतावासका कूटनीतिज्ञलगायतको उपस्थिति थियो । खुशीयालीमा दूतावासले शुक्रबार लण्डनस्थित आफ्नो परिसरमा रिसेप्सन समारोह समेत आयोजना गर्दैछ ।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत घिमिरेको बेलायतमा कूटनीतिक कार्यकाल औपचारिक रुपमा सुरु भएको छ । सन् १९३४ मा लण्डनमा नेपालको मिसन स्थापना भएयता घिमिरे बेलायतका लागि २३ औं नेपाली राजदूत हुन् ।

प्रतिक्रिया