शुक्रबार, जेठ २, २०८२

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

मेरोन्यूज २०८२ जेठ २ गते १५:४६

बागलुङ।जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन बेट छर्ने काम शुरु भएको छ ।

काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको १० लाख रुपियाँ अनुदान सहयोग तथा स्थानीय कृषकको ५० प्रतिशत लागत साझेदारीमा तल्लो बिहुँमा रहेका १३ हजार फल दिने सुन्तलाका बोटमा लाग्ने ओैंसा किरा नियन्त्रण गर्नका लागि बोटमा प्रोटिन वेट ओैषधि छर्ने काम शुरु भएको हो ।

किसानको बगैचामा पुग्नुभएका गण्डकी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ कृषि तथा बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले ओैंसा किराका साथै सुन्तलामा देखिने विभिन्न प्रकारका रोगहरुको बारेमा दुई दिनसम्म कृषकहरुलाई सहजिकरण गरेका थिए । दश दिनको फरकमा १० हप्तासम्म प्रतिबोट पचास मिलीलिटर प्रोटिन वेट छर्दा सुन्तलालाई औसा किराको प्रकोपबाट जोगाउन सकिने अधिकारीको भनाई छ । तीन ओटा बोटमध्ये एक बोटमा प्रोटिन वेट छर्न अधिकारीको सुझाव छ ।

स्थलगत कार्यक्रमले प्रभावकारी काम देखिने र किसानलाई हौसला पनि मिल्ने काठेखोलाका अध्यक्ष राजु थापाले बताए । हेफर इन्टरनेशनल प्रोजेक्ट नेपालका कार्यक्रम व्यवस्थापक डा. प्रदिप अधिकारीले हेफरले गर्ने सहयोग निम्न वर्गका किसानसम्म पुग्न सकेमा व्यावसायिक किसान उत्पादन गर्न सकिने धारणा व्यक्त गरे ।

गत वर्ष औसा किरा र सुन्तलाको जरा कुहिँने समस्याले बागलुङमा सुन्तला उत्पादन घटेको थियो । सुन्तला गाउँले परिचित सिगानामा सुन्तला उत्पादन वृद्धि भएपनि औसाको प्रकोपले बिहुँ, सर्कुवामा सुन्तला उत्पादन घटेको थियो । गएको वर्ष बागलुङमा २० करोडको सुन्तला उत्पादन भएको थियो । ३ सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ३ हजार ९ सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । बागलुङको बिहुँ, सिगाना, सर्कुवा, बिनामारे, हरिचौर, बिरकोट, भकुण्डे र तित्याङ सुन्तलाको पकेट क्षेत्र हुन् ।

वडा अध्यक्ष वृहस्पति कँडेलले आफ्नो वडामा अभियानकै रुपमा प्रोटिन बेट छर्ने कार्यक्रम संचालन गर्दै सुन्तला बगानको थप व्यवस्थापन गरी आर्थिक समृद्वमा पुग्न स्रोतको पहिचान गरिने बताए । विवाईसीका अध्यक्ष तोयानाथ गौतमले बास्ताविक किसान पहिचान गरी किसानकै आँगानसम्म परियोजना पुगिरहेको बताए । साना किसान सहकारीका अध्यक्ष भवानी शंकर कँडेलले कृषकहरुमा उत्साह जगाउने खालको कार्यक्रम भएको हुँदा सबैलाई समेटेर ओैंसा किरा नियन्त्रणमा आशा जगाएको बताए

प्रतिक्रिया