आज साउनकाे अन्तिम सोमबार,पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ। साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए। अन्य विशेष पर्वमा जस्तै पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। विवाहित महिलाले दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ।

गोकर्णेश्वरमा पनि भक्तजनको घुइँचो यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीन कालेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।
यही मान्यताका आधारमा बिहानैदेखि मन्दिरमा भक्तजनको चाप देखिएको हो । गोकर्णेश्वरमा पनि बिहान ३ बजेदेखि भक्तजनका लागि ढोका खुला गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका– ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ ।
आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् । आइतबार बोलबम काँवरिया सङ्घमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए । यी भक्तजनले आज बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका छन् । यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् ।
यसरी बोल बमयात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायतबीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाइको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महिनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घर नराम्रो शक्तिको प्रवेश नहुने सुख, शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ । यसैगरी राजधानीका अन्य शिवालय वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत स्थानमा पनि भक्तजनको घुइँचो छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया