पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा

भैरहवा (रूपन्देही) । रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ। तर, उनको आरन अब परम्परागत मात्र छैन। उनले पुख्र्यौली सीपलाई आधुनिक प्रविधि र औजारसँग जोडेर आफ्नो पेसालाई नयाँ जीवन दिएका छन्। यो कथा शिवलालको पुरानो पेसाप्रतिको सम्मान र नयाँ प्रविधिप्रतिको खुला सोचको एक प्रेरणादायी उदाहरण हो।
उमेरले ३७ वर्ष मात्र पुग्नुभएका शिवलालले आफ्ना बुबा र हजुरबुबाबाट फलामको काम सिके। उनको पुस्ताले कोइलाको आगो फुकेर फलामलाई तताउने, अनि घन र हथौडाको सहायताले हँसिया, बञ्चरो, खुर्पा, चुलेसीजस्ता औजारहरू बनाउने काम गर्थे। यो कामले धेरै मेहनत र धैर्यको माग गथ्र्यो। एक दिनमा केही औजार मात्र बनाउन सकिन्थ्यो र त्यो पनि निकै थकाइ लाग्ने काम थियो। परिश्रमअनुसारका पारिश्रमिक पनि पाइँदैनथ्यो। आरनको काम गरेबापत तत्कालीन समयमा बाली (जीवका) पाइन्थ्यो।
शिवलालले यो परम्परालाई निरन्तरता दिँदै गर्दा उनले केही परिवर्तनको आवश्यकता महसुस गरे। ग्राहकले छिटो र राम्रो काम खोज्न थालेका थिए। बजारमा मेसिनले बनेका सस्तो र आकर्षक औजारहरू आउन थालेपछि परम्परागत आरनको काममा चुनौती थपियो। उनले सोचे, ‘मेरो सीपलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ ?’
‘अब परम्परागत आरनको धुँवा र धूलोमा मात्र सीमित हुनुपर्दैन’, शिवलाल लोहार मुस्कुराउँदै भने। आफ्नो पुख्र्यौली पेसालाई आधुनिक प्रविधि र औजारको प्रयोगले नयाँ जीवन दिँदै उनले फलामबाट जीविकोपार्जन गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याएका छन्।
पुस्तौंदेखि लोहार समुदायले गर्दै आएको फलामको कामलाई अहिलेको समय सुहाउँदो बनाउनु नै उनको सफलताको मुख्य कडी हो। परम्परागत आरनमा कोइलाको आगो फुकेर हत्केलाले घन चलाउँदै बनाइने हँसिया, बन्चरो, खुर्पा, चुलेसीजस्ता औजार अहिले बिजुलीबाट चल्ने ग्राइन्डर, वेल्डिङ मेसिन र अन्य आधुनिक उपकरणको सहयोगमा सजिलै छिटो बन्न थालेका छन्। पुरानो आरनमा नयाँ चमक देखिएको छ।
शिवलालले यो काममा हात हालेको धेरै भएको छैन। १८ वर्ष अघि पेसा सुरू गरेको उनले आफ्नो गाउँको पुरानो आरनलाई आधुनिक बनाउने सङ्कल्प लिए। गाउँको पुरानो आरनको ठाउँमा सानो वर्कसप नै स्थापना गरे। ‘पहिले दिनभर एउटा खुर्पा बनाउन लाग्थ्यो, त्यसमाथि हात पनि पोल्ने डर हुन्थ्यो’, उनी भन्छन्, ‘अहिले आधुनिक मेसिनको प्रयोगले छोटो समयमै धेरै औजारहरू बनाउन सकिन्छ।’
आधुनिक प्रविधिको प्रयोगले उत्पादनको गुणस्तरमा सुधार आएको छ। यसले गर्दा बजारमा माग पनि बढिरहेको छ। ‘पहिलेका औजारमा धार छिटो बिग्रने समस्या थियो, तर अहिले मेसिनले गर्दा बनेका औजारहरू अझ टिकाऊ र बलिया भएका छन्,’ उहाँ भन्छन्, ‘रूपन्देही मात्र नभई काठमाडौँ, विराटनगर, हुम्ला जुम्लासम्म मैले बनाएका औजारहरू पुगेका छन्।’
यसै पेसाले उनले आफ्नो र दिवङ्गत भाइका सन्तानलाई निजी विद्यालयमा पढाइरहेका छन्। यसैले घरखर्च चल्ने गरेको छ। उनी आफ्नो यो पेसामा पूर्ण सन्तुष्ट देखिन्छन्। नौ जनाको परिवार पनि सन्तुष्ट छ। दैनिक औषतमा रु पाँच हजारसम्मको कारोबार हुने गरेको उनले सुनाए।
शिवलालको यो प्रयासले लोहार समुदायका अन्य युवालाई पनि प्रेरणा दिएको छ। उनीहरू पनि आधुनिक मेसिनहरू चलाउन सिक्न उत्साहित छन्। लोहार समुदायको परम्परागत सीपलाई आधुनिक प्रविधिले नयाँ ढङ्गबाट संरक्षण गरेको यो उदाहरणले अन्य पेसाकर्मीलाई पनि आफ्नो काममा नयाँपन ल्याउन प्रोत्साहन मिलेको छ।
शिवलाल भन्छन्, ‘मेरो यो प्रयासले फलामको कामलाई केवल परम्परागत पेसाको रूपमा मात्र नभई आधुनिक र सम्मानित पेसाको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।’ यसले युवाहरूलाई विदेशिनुभन्दा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।
आफ्नो आरनमा पहिलोपटक बिजुलीबाट चल्ने ग्राइन्डर र वेल्डिङ मेसिन भित्र्याउँदा शिवलाल दृढ थिए, यसले राम्रो प्रतिफल दिन्छ भनेर। उहाँले नयाँ प्रविधिको प्रयोगबाट काम कति सजिलो र छिटो हुन्छ भन्ने कुरा देखाउने निर्णय गर्नुभयो र यसमा सफल पनि भए।
ग्राइन्डरले फलामलाई छोटो समयमै आकार दिन र धार लगाउन मद्दत गर्यो। पहिला हत्केलाले घन चलाउँदै धेरै बेर लगाएर मिलाउने काम अब केही मिनेटमै हुने भयो। बेल्डिङ मेसिनको प्रयोगले फलामका टुक्रा जोड्न र औजारको मर्मत गर्न निकै सजिलो भयो। यसले समय र श्रम दुवै बचायो।
यी आधुनिक औजारहरूको प्रयोगले शिवलालको कामको गुणस्तर पनि बढ्यो। बनेको औजारहरू अझ राम्रो र फिनिसिङ भएका देखिन थाले। यसले ग्राहकहरूलाई आकर्षित गर्यो र उनले बजारमा आफ्नो छुट्टै पहिचान बनाए।
कामको माग बढेपछि शिवलालले काममा सहयोग गर्न चार जना कामदार पनि राखे। उनले आफ्ना कामदारलाई पनि आधुनिक औजार चलाउन सिकाए। अब उनीहरू सबै मिलेर काम गर्दा कामको गति झनै बढ्यो। यसले गाउँका अरू मानिसहरूलाई पनि रोजगारी मिल्यो।
नयाँ प्रविधि अपनाउनु शिवलालको लागि भने त्यति सजिलो थिएन। सुरूमा उहाँलाई औजार चलाउन केही गाह्रो भयो। बिजुलीको बिल पनि बढ्यो। तर, उहाँले हार मान्नुभएन। उहाँले विस्तारै–विस्तारै औजार चलाउनमा दक्षता बढाउनुभयो। कामबाट हुने आम्दानी बढेपछि बिजुलीको बिल पनि त्यति ठूलो समस्या लागेन।
शिवलाल भन्छन्, ‘परम्परागत सीपको जगमा नयाँ प्रविधिको घर बनाउँदा नै दिगो विकास सम्भव हुँदो रहेछ। मैले पुर्खाले सिकाएको सीपलाई बिर्सिनँ, तर समयसँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा पनि बुझेँ।’ उनले पेसागत कामप्रति स्थानीय सरकारको अपनत्व हुनुपर्ने भए पनि त्यसो नभएको गुनासो गरे। ‘अन्य पालिकामा यसै पेसामा लागेकालाई पालिकाले औजारहरू दिएर पेसा सञ्चालन गरेको थाहा पाउछु,’ लोहारले भने, ‘तर हाम्रो पालिकामा त्यस्तो केही सहयोग पाइएको छैन।’
शिवलाल लोहारको कथा ग्रामीण क्षेत्रमा रहेका परम्परागत पेसाकर्मीका लागि एक प्रेरणाको स्रोत बनेको छ। उनले परम्परागत पेसालाई लोप हुनबाट जोगाउन र यसलाई अझै पनि जीवन्त राख्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य छ भन्ने प्रमाणित गरेका छन्। उनको सफलताले नयाँ पुस्तालाई पनि यो पेसा अँगाल्न प्रेरित गर्न सक्छ।
शिवलालको आरनमा आज पनि कोइलाको आगो दन्किन्छ, तर त्यसको छेउमा ग्राइन्डरको आवाज पनि सुनिन्छ। यो दुवैको संयोजनले उनको आरनलाई नयाँ जीवन दिएको छ। उनी आफ्नो पेसामा पूर्ण रूपमा सन्तुष्ट छन् र यसबाटै आफ्नो परिवार र गाउँको भविष्य उज्यालो बनाउन लागि परेका छन्।
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया