राससले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस)ले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन तथा निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले राससमा कार्यरत पत्रकार र कर्मचारी जुनसुकै विचार र आस्थामा आबद्ध भए पनि संस्थाको बृहत्तर हितका पक्षमा एक हुनुपर्ने बताए ।
“राससमा कार्यरत साथीहरु साँच्चिकै पत्रकार बनेर आफ्नो व्यक्तित्व निर्माणमा लागेमा त्यसले देश र जनतालाई फाइदा पुग्नेछ”, उनले भने, “अहिलेको सरकारको कार्यादेश बुझ्नुभएकै छ । सोहीअनुसार व्यवसायिक, निष्पक्ष र सन्तुलित भइ काम गर्नुस् ।” रासस विनियमावली संशोधन छिट्टै रासस एक इतिहास बोकेको गौरव गर्न लायक संस्था भएको स्मरण गर्दै मन्त्री खरेलले राससको विनियमावली संशोधनलाई विभागीय मन्त्रीका हैसियतले छिट्टै टुङ्गोमा पु¥याउन आफू तत्पर रहेको बताए ।
उनले राससको भौतिक सम्पत्तिको उपयोग, अडियो–भिडियो सेवाको दिगोपना आदिका विषयमा क्रमशः छलफल गरिने विश्वास दिलाए। राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस विनियमावली लामो समयदेखि मन्त्रालयमा विचाराधीन हुँदा कर्मचारीको वृत्तिविकाससँग सम्बन्धित काम प्रभावित भएको बताउँदै यथाशक्य छिटो विनियमावली स्वीकृतिका लागि आग्रह गरे । उनले नेपाल भाषा, मैथिली र अवधि भाषामा समाचार सेवा प्रवाह भइरहेको जानकारी दिँदै अन्य मातृभाषामा पनि समाचार सेवा सञ्चालनका लागि बजेट व्यवस्था भए रासस तयार रहेको बताए ।
उनले व्यावसायिक हिसाबले महत्त्वपूर्ण स्थानका राससको भौतिक सम्पत्तिको सदुपयोग गरी संस्थालाई आत्मनिर्भर बनाउन सकिने भएकाले त्यसमा सरकारको सहयोगको आवश्यकता औँल्याए । रासस उपदान कोषसहित समग्र बजेट वृद्धिको व्यवस्था गरिदिन पनि कार्यकारी अध्यक्ष झालेले आग्रह गरे । राससका महाप्रबन्धक सन्दीप राईले राससलाई समयसापेक्ष ‘डिजिटलाइज्ड’ गरी देशको एजेण्डा बोक्ने समाचार संस्थाका रुपमा स्थापित गर्न व्यवस्थापन पक्ष अघि बढिरहेको बताए ।
केन्द्रीय कार्यालयबाट मात्र समाचार सेवा प्रवाह भइरहेको अवस्थामा प्रदेशगत रुपमा पनि ‘बुलेटिन’ प्रकाशन गर्नुपर्ने देखिएकाले त्यसमा सरकारका तर्फबाट सहयोगको अपेक्षा गर्नुभयो । उहाँले रासस विनियमावली संशोधन प्रक्रियालाई अन्तिम रुप दिन र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न मन्त्रालयको नेतृत्वदायी भूमिका हुने भएकाले सहजीकरण गरिदिन मन्त्रालयसँग अनुरोध गर्नुभयो । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव कोषहरि निरौलालगायत उपस्थित थिए।









पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
झापामा सवारी दुर्घटनामा परी ४ महिनामा १७ जनाको मृत्यु
लुटपाटमा संलग्नहरुको नाम र ठेगाना उपलब्ध गराउन कास्की प्रहरीको आग्रह
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया