दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…

बैङ्कक। दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारीहरू अचम्मित तथा स्तब्ध बनेका छन् ।
बैङ्कक बाहिरी क्षेत्र पर्ने नोन्थाबुरी प्रान्तस्थित बौद्ध मन्दिर ‘वाट रात प्राखोङ थाम’ ले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमा सेतो कफिनभित्र पिकअप ट्रकको पछाडि सुतिरहेकी एक महिलाले बिस्तारै हात र टाउको हल्लाउन थालेको देखिन्छ, जसले मन्दिरका कर्मचारीहरूलाई एकैछिनमा विश्वास गर्न नसक्ने अवस्थासम्म पुर्याएको थियो ।
मन्दिरका महाप्रबन्धक तथा वित्तीय मामिला प्रमुख पैराट सुदथुपले सोमबार एपीसँग कुरा गर्दै ६५ वर्षीया उक्त महिलालाई उनका भाइले फित्सानुलोक प्रान्तबाट दाहसंस्कारका लागि ल्याएको जानकारी दिए । उनका अनुसार कफिनभित्रबाट हल्का ढकढक्याएको आवाज आएको सुनेपछि घटनाले अनपेक्षित रूप लिएको थियो ।
“म केही क्षणका लागि अचम्म परेँ र कफिन खोल्न भन्नुप¥यो । खोल्नेबित्तिकै सबैजना स्तब्ध भयौँ”, उनले भने, “उनी अलिक आँखा थोरै खोलेर कफिनको ढकढक्याउँदै थिइन् । उनले केही समयदेखि सहयोग माग्दै ढकढक्याइरहेको हुनुपर्छ ।”
पैराटका अनुसार ती महिला करिब दुई वर्षदेखि ओछ्यानमै परिरहेकी थिइन् । स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि दुई दिनअघि उनले सास फेर्न छाडेकीजस्तो देखिएकाले भाइले मृत भनी कफिनमा राखेर बैङ्ककस्थित अस्पतालसम्म करिब ५०० किलोमिटर (३०० माइल) यात्रा गरेका रहेछन् । ती महिलाले पहिल्यै आफ्नो अङ्ग दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
तर अस्पतालले आधिकारिक मृत्यु प्रमाणपत्र नहुँदा उक्त प्रस्ताव अस्वीकार गरिदिएको पैराटले बताए । मन्दिरले निःशुल्क दाहसंस्कार सेवा उपलब्ध गराउने भएकाले भाइले आइतबार मात्रै मन्दिरसँग सम्पर्क गरेका थिए । तर आवश्यक कागजात नहुँदा मन्दिरले पनि सेवा उपलब्ध गराउन नसकेको उनको भनाइ छ ।
यही कुरा–मृत्यु प्रमाणपत्र कसरी प्राप्त गर्ने भन्ने बारे मन्दिरका अधिकारीहरूले बुझाइरहँदा–कफिनभित्रबाट ढकढक्याएको आवाज आएको थियो । त्यसपछि तुरुन्तै महिलाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको मन्दिरले जनाएको छ ।
पैराटका अनुसार मन्दिरका मठाधीशले ती महिलाको उपचार खर्चसमेत बेहोर्ने प्रतिबद्धता जनाए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया