बुधबार, फागुन १३, २०८२

सन्तान गुमाउँदाको असह्य पीडा भोगिरहेकी लक्ष्मी, भन्छिन्- छोराको सरकारी जागिर खाने सपना थियाे (भिडियाेसहित)

कमलामाई (सिन्धुली) । “मेरो मुटुको टुक्रा के भयो आज यो ! मेरो प्यारा तिम्रो बोली कहाँ गएर सुनु, तिम्रो हाँसो अब कसरी हेरुँ, दशैं–तिहार चाडबाड कसरी मनाउँ, यो अभागी आमाको मन कसरी बुझाउँ ?” गत भदौ २३ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद योगेन्द्र न्यौपाने (रोसन) को आमा लक्ष्मीले आँसुका धारा बगाउँदै बोलिरहने बेदनाका शब्दहरु हुन् यी ।

Advertisement
nepal life insurencenepal life insurence

जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए । घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरो गुमेपछि लक्ष्मीको अनुहारमा छाएको पीडा शब्दले बयान गर्न सकिन्न । दिउँसै बत्ती बाल्दा पनि उज्यालो नछाउने घरको एक कोठामा सहिद योगेन्द्रका तस्वीरहरु राखिएका छन् । त्यही कोठामा लक्ष्मीको धेरै समय बित्छ ।

साँझ–बिहान श्रद्धाञ्जलि लेखिएका तस्वीरमा धुप–दीप गर्नुहुन्छ र छोराको स्वर्गमा बास होस् भन्ने कामना गर्छिन् । “जेनजी आन्दोलनमा अरु धेरैका सन्तानले ज्यान गुमाए । तर, यस्तो बेला आफूलाई मात्रै पीडा परेको जस्तो लाग्दोरहेछ,” लक्ष्मीले २३ वर्षीय सहिद योगेन्द्रको तस्वीर सुमसुमाएर देखाउँदै भनिन्, “यस्तो छोरो गुमाएर बाच्नु परेको छ ।”

लक्ष्मी सुत्ने कोठाभरि सहिद योगेन्द्रका बाल्यकालदेखि युवावस्थासम्मका सम्झनाहरु छन् । आमा लक्ष्मीको आँखाभरि गुमाएको छोरोका यादहरु छन् । त्यी यादले उनलाई रातमा निद्रा दिँदैन, दिनमा चयन मिल्दैन । छोरोको झल्कोले बेला–बेलामा ऐँठन भइराख्छ । “अब रुन्न भन्छु, उसलाई सम्झिन्छु । आँसु खस्छ, रोक्नै सक्दिन । कोही साथमा हुँदा बोल्यो । एक्लै हुँदा त सम्झयो, रोयो । के गरी मन बुझाउँनु र !,” उनले पीडा पोखिन्।

सानै उमेरमा माइतीका आमाबुबा गुमाएकी लक्ष्मीका दाजुभाई पनि छैनन् । आफूले जन्माएका तीन सन्तान थिए । जेठो छोरो योगेन्द्रले अकालमै ज्यान गुमाउनु प¥यो । अहिले उनका दुई सन्तान छन् । त्यसमध्ये छोरीको विवाह भइसकेको छ । कान्छो छोरो सहिद योगेन्द्रको काजकिरीया सकिएपछि काठमाडाँै फर्किएका छन् ।

यतिबेला सहिद योगेन्द्रको सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारस्थित घरमा आमा लक्ष्मी र बुबा युवराज न्यौपाने (उमेश) मात्रै छन् । लक्ष्मी दम्पतिले केही समयअघि गाउँमा भएको जमिन बेचेर काठमाडौँमा घर किनेका थिए । सहिद योगेन्द्र सोही घरमा बसेर त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको सपना थियो, सरकारी सेवामा अधिकृत बन्ने । उनले आफ्नो सपना पूरा गर्न गत असारमा अधिकृत बन्ने लोकसेवा आयोगको परीक्षा दिएका थिए ।

काठमाडौँ आफ्नै घरमा बसेका योगेन्द्र गाउँको घरमा नआएको पनि छ महिना भएको थियो । भिडिओ कलमा आफ्नो परीक्षा राम्रो भएको भन्दै परिवारमा थप आशा र भरोसा जगाएका थिए । १२ कक्षा पास गरेको कान्छो छोरो विदेश जाने सोचमा थिए भने योगेन्द्र भने विदेश नजाने अडानमा थिए । ‘उसको एक मात्रै सपना सरकारी अधिकृत बन्ने थियो,” आमा लक्ष्मीले भक्कानिदै सुनाउनुभयो ।

चाडपर्व नजिकिदै थिए । दशैँ मनाउन गाउँको घर फर्कने योगेन्द्रको योजना थियो । यता, बुबा–आमालाई छोरो भेट्ने उत्सुत्कता उत्तिकै थियो । तर, नियतिले परिस्थिति भयानक बनाइदियो । दशैँ, तिहार चाडबाड त आए तर योगेन्द्र आएनन् । योगेन्द्रको अभावमा रहेको परिवार अब आफ्नो घरमा चाडपर्वको उल्लास कहिल्यै नआउने दुःखेसो गर्छन् ।

योगेन्द्र बितेको वियोगमा आफन्तको समेत अझैसम्म आशुँ ओभाएका छैनन् । “सरल स्वभावको मिहेनती थियो । अस्वस्थकर खानेकुरा आफू पनि खादैँनथे, अरुलाई पनि नखान सुझाल्उथे । पढाई अब्बल थियो । त्यस्तो घटना भयो । मन अझैसम्म पिरोलिन्छ,” उहाँका आफन्त छत्रमाया न्यौपानेले भने । योगेन्द्रको स्वभाव भद्र भएको बताउनुभयो । राजनीतिमा खासै चासो नराख्ने, आफ्नो काम र पढाईमा मात्रै ‘फोकस’ हुने भजिता त्यो दिन कसरी आन्दोलनमा पुग्यो भनेर आश्चर्यमा परेको उनी बताउँछिन् ।

सहिद योगेन्द्रका बुबा युवराज न्यौपाने (उमेश) पेशाले स्थायी शिक्षक हुन् । आमा लक्ष्मीले घरधन्दासँगै पसल चलाएका छन् । राससकर्मी जेनजी आन्दोलनका सहिद योगेन्द्रका पिता भेट्न गोलञ्जोर गाउँपालिका–२ कुखुरेटारस्थित सुनकोशी प्राथमिक विद्यालयमा पुग्दा उनी कक्षाकोठामा पढाउँदै थिए ।

केही समयको भेटमा उनले भने, “भदौ २३ गतेको जेनजी आन्दोलनको सुरुमै मेरो जेठो छोरो योगेन्द्र सहिद भयो । त्यसमा असाध्यै दुःख छ । उनीहरुले जे उद्देश्य लिएर आन्दोलन गरे, देशको निम्ति रगत बगाए । त्यो रगतको मूल्य राज्यले बुझ्नुपर्छ ।” उनको बुझाइमा जेनजीहरुको आन्दोलन राष्ट्रका लागि नै थियो । जेनजीहरुले देश ‘ट्रयाक्क’ भन्दा बाहिर गयो, ‘ट्रयाक्क’ मा आउनुपर्छ भनेर आन्दोलन गरेका थिए । जेनजीले गरेको आन्दोलन देशमा मौलाउँदै गएको विकृति, विसङ्गती र बेतिथिका विरुद्धमा थियो ।

जेनजी आन्दोलनले देखाएको मार्गलाई राज्यले आत्मसाथ गर्नुपर्ने बुबा युवराजको तर्क छ । उहाँका अनुसार सहिदले बनाएको रगतको मूल्य बुझ्न नसक्ने हो भने आगामी पुस्ताले फेरि त्यही गल्ती दोहो¥याउनु पर्ने अवस्था आउन सक्छ । “हाम्रा बाबुहरुले जस्तै अरु नयाँ युवाले रगत बगाउन नपरोस्,” उनले भनिन् । राज्यले जेनजी आन्दोलनको सार बुझेर परिर्वतनको आधार तयार नगरेसम्म जेनजी आन्दोलनका सहिदहरुको आत्माले शान्ति प्राप्त नगर्ने उनको भनाइ छ ।

जेनजी आन्दोलनका सहिद परिवारलाई सरकारले घोषणा गरेका केही राहत उनीहरुसम्म पुगेका छन् । तर, त्यतिले नपुग्ने सहिद परिवारको भनाइ छ । सङ्घीय सरकारले जेनजी आन्दोलनमा साहदत प्राप्त गर्ने सहिदहरुको शालिक, स्मारक निर्माण गर्नु पर्ने, जेनजी आन्दोलन स्मरण दिवसलाई सार्वजनिक विदा घोषणा गर्नुपर्ने र सहिदका परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने सहिद परिवारको माग छ ।

जेनजी आन्दोलनका क्रममा योगेन्द्रसहित सिन्धुलीका तीन जनाले ज्यान गुमाएका थिए । तीनपाटन गाउँपालिका–६ भलायोडाँडाँका १९ वर्षीय दिपेश सुनुवार भदौ २४ गते बानेश्वरमा भएको आन्दोलनकै क्रममा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सिन्धुलीको दुधौली नगरपालिका–८ घर भएका प्रहरी सहायक निरीक्षक मिलन प्रहरी वृत्त महाराजगञ्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत थिए । ३० वर्षीय मिलनलाई २४ भदौमा सादा पोशाकमै रहेका बेला प्रदर्शनकारीले डिएसपी भन्दै कुटेर हत्या गरेका थिए ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई राज्यले सहिद घोषणा गरेको तीन महिना पुगिसकेको छ । तर, आजका दिनसम्म त्यी सहिदको सम्झानामा जिल्ला तथा पालिकास्तरमा कुनै पनि गतिविधि नभएको सहिद परिवारको गुनासो छ । सहिद परिवारका अनुसार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा एउटा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गरी तीन सहिदका शालिकहरु स्थापना गर्नुपर्छ । स्थानीय तहको भूमिकालाई जोड दिँदै पालिकाले पनि आफ्नो ठाउँमा शालिक निर्माण र जेनजी आन्दोलनको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया