सोमबार, पुष १४, २०८२

चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं

मेरोन्यूज २०८२ पुष १४ गते १६:४३

काठमाडाैं । वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सदर चिडियाखाना व्यवस्थापनको ३०औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले मानव र प्राणीबीचको सम्बन्ध सुमधुर बनाउन चिडियाखानाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सदर चिडियाखाना व्यवस्थापन पक्षको प्रशंसा गरे।

उनले स्वार्थमा आधारित प्रवृत्तिको अन्त्य गर्दै इमानदारीपूर्वक काम, सेवा प्रवाह, निर्णय र प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। सूर्यविनायकमा निर्माण हुन लागेको चिडियाखानाको काम केही हप्तामै प्रभावकारी रूपमा अगाडि बढ्ने, संरक्षणकर्मीहरू भ्रष्टाचारविरोधी हुने र संरक्षण अभियानमा राज्य मात्र नभई समुदायको साझेदारी र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री चौलागाईंले चिडियाखाना व्यवस्थापनको सरसफाइप्रति ध्यान दिएकोमा सन्तुष्टि व्यक्त गरे। उनले बाघ संरक्षणमा मानवीय दायित्व बढी सृजना हुने अवस्थाको न्यूनीकरण गर्नुपर्ने, प्रणालीमा नियमसङ्गत काम सहज रूपमा किन भइरहेको छ भन्ने विषयमा खोजी गर्नुपर्ने उल्लेख गरे। उनले ३० वर्षदेखि कर्णालीले केन्द्रीय सत्तामा पहुँच नपाएको अवस्था आफू मन्त्री भएपछि अन्त्य भएको र देशलाई निराशाको चङ्गुलमा राख्ने काम गर्न नहुने बताए।

चिडियाखानाको विस्तारका क्रममा प्राणी संरक्षण र सरसफाइ कायम राख्ने उत्कृष्ट मापदण्ड तयार गर्न सदर चिडियाखानाले ध्यान दिनुपर्ने उनले बताए। विगतका नेतृत्वबाट पर्याप्त काम हुन नसकेकाले ‘जेनजी विद्रोह’ भएको उल्लेख गर्दै सुशासन कायम गर्ने चाहना हरेक सरकारी कार्यालय र नेतृत्वकर्तामा हुनुपर्नेमा जोड दिए।

उनले सुशासन र सेवा प्रवाहमा ध्यान दिँदै नागरिकमैत्री कामलाई प्राथमिकता दिएको र मन्त्रालयमा रहँदासम्म जिम्मेवारीपूर्वक काम गर्ने बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई सदर चिडियाखाना व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धता पूरा भएको जानकारी गराए। उनले चिडियाखानामा संरक्षणमा रहेको पाटेबाघका लागि १५ लाख रुपैयाँ उपलब्ध गराइएको जानकारी दिए।

चिडियाखाना ललितपुर महानगरपालिकाको सान भएको उल्लेख गर्दै उनले यसको संरक्षणमा ध्यान दिइने बताए। चिडियाखानाको व्यवस्थापन र संरक्षणमा महानगरले कुनै समस्या आउन नदिने र विकास तथा विस्तारमा साझेदारका रूपमा काम गर्न तयार रहेको प्रतिबद्धता जनाए।

प्रमुख महर्जनले रात्रिकालीन समयमा चिडियाखाना अवलोकन गर्न सक्ने व्यवस्था मिलाएकामा खुसी व्यक्त गरे। साथै, राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना व्यवस्थापनको जिम्मेवारी थप ३० वर्षका लागि दिइएकोप्रति सन्तुष्टि व्यक्त गरे।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले भक्तपुरको सूर्यविनायकमा प्रस्तावित चिडियाखानालाई खुला चिडियाखानाका रूपमा विकास गर्ने सोचअनुसार काम हुन नसकेकोप्रति दुःख व्यक्त गरे। उनले वन्यजन्तु विभाग र संरक्षण क्षेत्रसँग समन्वय गर्दै प्राणी उद्धारमा सदर चिडियाखानाले गर्दै आएको कामको प्रशंसा गरे।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वअध्यक्ष तथा चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले प्रकृति संरक्षण कोषलाई वैज्ञानिक र व्यवस्थित बनाउन विद्वत् वर्गलाई समेट्दै सहकार्यका साथ अघि बढ्नुपर्ने बताए।

उनले सूर्यविनायकमा केन्द्रीय चिडियाखाना निर्माणका लागि मन्त्रालयबाट पर्याप्त सहयोग नपाएको भन्दै मन्त्री चौलागाईंको ध्यानाकर्षण गराए। चिडियाखाना व्यवस्थापनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पनि पर्याप्त समन्वय र सहयोग हुन नसकेको उल्लेख गर्दै वन्यजन्तु अध्ययन, अनुसन्धान र प्राणी संरक्षणका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए।

पूर्वअध्यक्ष ओलीले प्राणी संरक्षण, चिडियाखाना व्यवस्थापन, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय साझेदारीमा विगतमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा कर्मचारी तहबाट असहयोग भएकोप्रति असन्तुष्टि व्यक्त गरे।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले वन्यजन्तुको चापअनुसार सदर चिडियाखानाको क्षेत्रफल कम रहेको बताए। उनले क्षेत्रफल विस्तारका लागि अन्य स्थानमा पनि वन्यजन्तु संरक्षणको व्यवस्थापन गर्दै चिडियाखाना विस्तार गर्नुपर्नेमा जोड दिए। सदर चिडियाखानाको समन्वयमा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी देशभर चिडियाखानाहरू सञ्चालन गर्न आग्रह गरे। उनले सदर चिडियाखानालाई सबैले अपनत्व गर्ने संस्थाका रूपमा विकास गर्दै दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. नरेश सुवेदीले सदर चिडियाखाना व्यवस्थापनका लागि थप ३० वर्षे जिम्मेवारी प्रदान गरेकामा नेपाल सरकारलाई धन्यवाद दिए। उनले ललितपुर महानगरपालिका र वडा नं. ४ ले प्रभावकारी समन्वय र अभिभावकत्व ग्रहण गर्दै सकारात्मक भूमिका खेलेको बताए।

‘फ्रेन्ड्स अफ जू टिचर कमिटी’का अध्यक्ष खगेन्द्र नेपालले ३० वर्षको गौरवमय यात्रा पूरा भएकोमा शुभकामना व्यक्त गरे। विद्यालयलाई संरक्षण शिक्षासँग जोड्दा संरक्षण अभियानमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए। ‘फ्रेन्ड्स अफ जू’ अभियानमार्फत एक लाख २७ हजार ४५० भन्दा बढी विद्यार्थी समाहित भएको जानकारी पनि उनले दिए।

सदर चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण श्रेष्ठले अग्रजहरूको योगदानका कारण चिडियाखानाको व्यवस्थापन उत्कृष्ट बन्न सकेको बताए। चिडियाखानाबाट हुने आम्दानीले नेपालका दुई संरक्षण क्षेत्रको खर्च व्यवस्थापन गर्न सफल भएको जानकारी पनि उनले दिए।

कार्यक्रममा वन्यजन्तु संरक्षणमा योगदान पुर्‍याउने राधाकृष्ण श्रेष्ठ, सरिता ज्ञवाली र इन्द्रराज भट्टराई, संरक्षणमा उत्कृष्ट काम गर्ने कर्मचारी तथा वन्यजन्तु संरक्षणसम्बन्धी उत्कृष्ट कथा, कविता र गीत रचना गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया