बिहीबार, पुष २४, २०८२

सरकार दृढताका साथ लागेपछि निर्वाचनको वातावरण बन्याे : कानुनमन्त्री सिन्हा

मेरोन्यूज २०८२ पुष २२ गते १८:१२

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उनले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताए ।

“भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,” उनले भने । उनले जेनजी आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोवल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

मन्त्री सिन्हाले जेनजी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताए । उनले कठिन परिस्थितीमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गरे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग जुटेको बताउँदै निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे । उनले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने जिम्मेवारी सरकार, निर्वाचन आयोग र राजनीतिक दलको भएको बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको बताए । निर्वाचनको सुरक्षाका लागि संयुक्त कमाण्ड फोर्स बनाउन सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा प्रतिनिधीसभा सदस्य निर्वाचन स् संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनको जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवम् मतदाता शिक्षा, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति : नीतिगत व्यवस्था, नियमन र नियन्त्रण, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणको बारेमा छलफल हुनेछ ।

यस्तै, निर्वाचन आयोगमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरू, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य मतगणना प्रक्रिया प्रतिवेदनलगायत विषयमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया