सोमबार, माघ ५, २०८२

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

मेरोन्यूज २०८२ माघ ५ गते १४:५८

काठमाडौं । वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ ।

अस्पतालका निर्देशक डा. दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि ३० आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो ।

“अस्पतालमा एउटै कक्षमा दुई–दुई बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता थियो,” उनले भने, “बिरामीको उपचारलाई ध्यान दिएर हामीले आकस्मिक कक्ष थप गरेका हौँ । अझै २० आकस्मिक कक्ष चाँडै नै विस्तार हुनेछ ।”

उक्त आकस्मिक कक्षमा बिरामीका कुरुवालाई खाना पकाउने व्यवस्थासमेत गरिएको छ । अस्पतालका निर्देशक डा. शर्माका अनुसार उक्त आकस्मिक कक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट सात करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

अस्पतालमा अहिले दैनिक तीन हजारभन्दा बढी बिरामी उपचार गर्न आउने गरेका छन् । यस्तै, अस्पतालमा दैनिक ७० देखि ८० साना ठूला शल्यक्रिया गर्ने गरिएको छ ।

अस्पतालमा हाल ८५० शय्या र ११० सघन उपचार कक्ष (आईसीयू) छन् ।

प्रतिक्रिया