सोमबार, माघ २६, २०८२

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

मेरोन्यूज २०८२ माघ २६ गते ११:३७

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले निजी प्रयोजनका लागि राखिएको इजाजत प्राप्त हतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा १५ जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दीए । जिल्ला प्रशासन कार्यालयबाट जिल्लाभरीका ६० जनाले हतियार राख्ने इजाजत लिएकामा हालसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालमा उक्त सङ्ख्यामा हतियार बुझाएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । उनका अनुसार इजाजत लिएका हतियार बुझाउने क्रम अझै जारी छ ।

स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले हतियारधनीसँग भएका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ । सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यवस्था रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । हतियार बुझाउँदा दिइएको निस्साको आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित हतियारधनीलाई फिर्ता गरिने उनको भनाइ छ ।

यस्तै निर्वाचनमा खटिने निर्वाचन प्रहरी भर्नाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि छनौट भएकालाई तालिम दिने काम भइरहेको छ । मकवानपुरमा एक हजार ९२३ निर्वाचन प्रहरी परिचालन गरिने योजना रहेको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाको विभिन्न ६ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
जिल्लाको ६० मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको उनको भनाइ छ । अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । उनका अनुसार बकैयाँ गाउँपालिको पाँच, राक्सिराङ्ग गाउँपालिकाका ६, बागमती गाउँपालिकाको पाँच तथा भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका र कैलाश गाउँपालिकाका एक एक मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।

मकवानपुरमा मतदाता सङ्ख्या बढ्ेपछि यसवर्ष सात मतदान केन्द्र थप गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले बताए । उनका अनुसार मकवानपुरमा यसपटक १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १७८ मतदान केन्द्र छन् भने क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।

मकवानपुरको क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता छन् भने क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य ५ गरी कुल तीन लाख १५ हजार ३३४ मतदाता छन् ।

प्रतिक्रिया