सोमबार, माघ २६, २०८२

विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

मेरोन्यूज २०८२ माघ २६ गते १७:४३

जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ दलले संसदीय चुनावमा दुई तिहाई बहुमत हासिल गरेपछि विश्व शेयर बजारहरू उकालो लागेका छन् र टोकियोको निक्केई २२५ सूचकाङ्क सोमबार करिब पाँच प्रतिशतले बढ्दै ऐतिहासिक स्तरमा पुगेको छ ।

युरोपको प्रारम्भिक कारोबारमा जर्मनीको डिएएक्स ०. ६ प्रतिशतले बढेर २४,८६४.५९ मा पुगेको छ भने फ्रान्सको सीएसी ४० ०.२ प्रतिशतले बढेर ८,२८८.०६ मा पुगेको छ । बेलायतको एफटीएसई १०० पनि ०.३ प्रतिशतले बढेर १०,३९९।६१ मा पुगेको छ ।

अमेरिकी सेयर बजारले शुक्रबार बलियो पुनरागमन गरेपछि सोमबारका लागि अमेरिकी फ्युचर्स पनि माथि देखिएका छन् । एस एन्ड पी ५०० का फ्युचर्स ०.१ प्रतिशतले बढेका छन् भने डाउ जोन्स औद्योगिक औसतका फ्युचर्स ०।२ प्रतिशतले उकालो लागेका छन् । शुक्रबार एस एन्ड पी ५०० करिब दुई प्रतिशतले बढ्दै मेयता सबैभन्दा राम्रो दिन देखिएको थियो । डाउ २.५ प्रतिशतले बढेर पहिलो पटक ५०,००० को मनोवैज्ञानिक स्तर पार गरेको थियो भने नास्डाक कम्पोजिट २.२ प्रतिशतले उकालो लागेको थियो ।

टोकियोमा निक्केई २२५ ३.९ प्रतिशतले बढेर बन्द भएको छ र यसअघि सूचकाङ्कले ५७,३३७.०७ को नयाँ इन्ट्राडे रेकर्ड पनि बनाएको थियो । अमेरिकी डलर जापानी येनको तुलनामा केही कमजोर हुँदै १५६.७१ येनमा कारोबार भएको छ ।

चुनावी जितले प्रधानमन्त्री ताकाइचीलाई बजारमैत्री नीतिहरू अघि बढाउन बलियो जनादेश दिएको विश्लेषकहरूले बताएका छन् । जापानी सार्वजनिक प्रसारक एनएचकेको मतगणनाको नतिजाअनुसार लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले तल्लो सदनका ४६५ सिटमध्ये ३१६ सिट जितेको छ । यो सन् १९५५ मा पार्टी स्थापना भएयताकै सबैभन्दा ठूलो सफलता हो ।

एस्ट्रिस एडभाइजरी जापानका प्रबन्ध निर्देशक नील न्युम्यानले कमजोर सरकारबाट बलियो बहुमतको सरकार बनेकाले अब नीतिगत निर्णय अघि बढाउन सजिलो भएको बताए । तल्लो सदन फेब्रुअरीको मध्यतिर पुनः बस्ने भएपछि बढ्दो जीवनयापन लागत र सुस्त ज्याला सम्बोधन गर्न बजेटसम्बन्धी काम पहिलो प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले चुनावी नतिजाले राजनीतिक अनिश्चितता हटाएकाले बजारले सहज प्रतिक्रिया दिएको टिप्पणी गरे ।

एसियाका अन्य बजारहरू पनि मजबुत देखिएका छन् । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले बढेर ५,२९८.०४ मा पुगेको छ । हङकङको ह्याङ सेङ १.८ प्रतिशतले उकालो लागेर २७,०२७.१६ मा पुगेको छ भने साङ्घाई कम्पोजिट १.४ प्रतिशतले बढेर ४,१२३.०९ मा पुगेको छ । ताइवानको टाइक्स दुई प्रतिशतले बढेको छ र अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० १.९ प्रतिशतले उकालो लागेर ८,८७०.१० मा पुगेको छ ।

वाल स्ट्रिटको पछिल्लो ¥यालीमा चिप उत्पादक कम्पनीहरूको ठूलो योगदान देखिएको छ । एनभिडिया ७.८ प्रतिशतले बढेको छ भने ब्रोडकम ७.१ प्रतिशतले उकालो लागेको छ । यद्यपि, ठूला प्रविधि कम्पनीहरूको खर्च र एआई प्रविधिबाट सफ्टवेयर कम्पनीहरू प्रभावित हुनसक्ने चिन्ताले एस एन्ड पी ५०० अझै केही हप्ताको आधारमा दबाबमै रहेको विश्लेषण गरिएको छ ।

अन्य कारोबारमा बिटक्वाइन एक प्रतिशतले बढेर ७०,००० डलरभन्दा तल कारोबार भएको छ । धातु बजार केही शान्त देखिँदा सुन १.४ प्रतिशतले बढेर ५,०४८.९० डलर प्रतिऔंस पुगेको छ भने चाँदी ६.२ प्रतिशतले उकालो लागेर ८१.६४ डलर पुगेको छ ।

तेल बजारमा भने मूल्य घटेको छ । अमेरिकी कच्चा तेल ६० सेन्टले घटेर ६२.९५ डलर प्रतिब्यारेलमा झरेको छ भने ब्रेन्ट क्रुड पनि ६० सेन्टले घटेर ६७.४५ डलर प्रतिव्यारेलमा पुगेको छ । युरो डलरको तुलनामा बलियो हुँदै १.१८६६ डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया