दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प

दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ । ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे) का अनुसार भूकम्प मङ्गलबार साँझ स्थानीय समयअनुसार करिब २३७ किलोमिटर गहिराइमा गएको हो । सामान्यतया सतही भूकम्प बढी महसुस हुने भए पनि यस भूकम्पको गहिराइ बढी भएकाले सतहमा प्रभाव केही सीमित भएको अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र टोङ्गाको दोस्रो ठूलो सहर नियाफुबाट करिब १५३ किलोमिटर पश्चिम समुद्रमा रहेको बताइएको छ । प्रारम्भिक विवरणअनुसार कुनै ठूलो क्षति वा मानवीय हताहतको पुष्टि भएको छैन ।
टोङ्गाको राष्ट्रिय विपद् जोखिम व्यवस्थापन कार्यालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तुरुन्तै उच्च स्थान वा भित्री भागमा सर्न निर्देशन दिएको छ । कार्यालयले समुद्र तट, किनार क्षेत्र र न्यून उचाइका स्थानहरूबाट टाढा रहन आग्रह गरेको छ र स्थिति सामान्य नभएसम्म सतर्क रहन भनेको छ ।
यद्यपि अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पपछि सुनामीको औपचारिक चेतावनी जारी गरेको छैन । हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले पनि भूकम्प गहिराइमा भएकाले सुनामीको जोखिम नरहेको जनाएको छ ।
टोङ्गा पोलिनेसियामा अवस्थित एक द्वीपसमूह हो । यहाँ १७१ टापुहरू रहेका छन् र एक लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । अधिकांश मानिसहरू मुख्य टापु टोङ्गाटापुमा बस्छन् । मङ्गलबारको भूकम्प भने भाभाउ टापु समूह नजिक केन्द्रित भएको थियो ।
टोङ्गाटापुको नुकुआलोफा सहरस्थित तानोआ इन्टरनेसनल डेटलाइन होटलमा रहेका एक व्यक्तिले भूकम्पका कारण भवन हल्लिएको अनुभव भएको तर अन्य क्षति नभएको जानकारी दिए । “पूरै भवन हल्लिएको थियो, तर सबै सुरक्षित छन्”, उनले भने ।
प्रहरीले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन भने विस्तृत मूल्याङ्कन अझै जारी रहेको जनाइएको छ ।
टोङ्गा ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्छ, जहाँ विश्वका अधिकांश भूकम्प र ज्वालामुखी गतिविधि हुने गर्छन् । सन् २०२२ मा यहाँ भएको ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण तीन जनाको मृत्यु भएको थियो ।
न्युजिल्यान्डबाट करिब एक हजार ८०० किलोमिटर उत्तरपूर्वमा रहेको टोङ्गा नजिकको यस भूकम्पपछि न्युजिल्यान्डको विपद् व्यवस्थापन निकायले आफ्नो देशमा भने कुनै सुनामी जोखिम नरहेको स्पष्ट पारेको छ ।
















इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
प्रतिक्रिया