शुक्रबार, चैत १३, २०८२

पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?

मेरोन्यूज २०८२ चैत १३ गते १६:१५

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताइन् ।

कानुनमन्त्री गौतमले ‘मुलुकी अपराध संहिता, २०७४ जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसूर, यौनजन्य हिंसा, बालबालिकासम्बन्धी कसूरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहिता लगायतका कानुनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानुनमा संशोधन कार्य अघि बढाउन मनासिव देखी पेस गर्ने निर्णयमा हस्ताक्षर गरिन् ।

“विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानुनहरु, संशोधन गर्नुपर्ने विषयहरुमा सबै अध्ययन गरेर काम गर्छौं,” मन्त्री गौतमले भनिन्, “भर्खर जिम्मेवारी सम्हालेको छु, अध्ययन गरेर काम गर्छौं ।”

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्छिन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिनुभएकी गौतम हाल चितवनको भरतपुर महानगरपालिकालाई स्थायी बसोबास बनाउँदै आएकी छन् । कानुन विषयमा स्नातक पूरा गरेकी छन् भने हाल काठमाडौँ स्कुल अफ लमा एलएलएम अध्ययनरत छन् ।

राजनीतिमा प्रवेशअघि नै कानुन, मानव अधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहेकी गौतमले विभिन्न युवा अभियान र नीतिगत बहसमा आफ्नो उपस्थिति जनाउँदै आएकी थिइन् । कानुनी समस्या र अधिकार उल्लङ्घनका विषयलाई कानुनी प्रक्रियामार्फत समाधानतर्फ लैजाने अनुभव समेत छ ।

प्रतिक्रिया