मंगलबार, पुष २९, २०८२

माओवादी केन्द्रको बैठक बस्दै, एमसीसी र सरकारबाट हट्नेबारे छलफल हुने

मेरोन्यूज २०७८ फागुन १३ गते ९:१६

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न माओवादीको बैठक बस्न लागेको हो । आजको बैठकले एमसीसीका साथै सरकारमा रहने वा नरहने भन्ने विषयमा समेत टुंगो लगाउने एक नेताले जानकारी दिए ।

सरकारले बिहीबार संसदमा एमसीसीमाथि छलफल गर्ने भने पनि एक्कासी स्थगित गरिएको थियो । संसद स्थगित भएसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीबीच भेट वार्ता भएको थियो ।

दुई नेताको भेट सकिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू र ओलीबीच वार्ता भएको थियो ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी यथास्थितिमा एमसीसी संसदबाट पास गर्न नहुने पक्षमा छ । यस्तै प्रधानमन्त्री देउवा जसरी भए पनि एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने एमालेले आफ्नो माग पूरा भए सरकारलाई साथ दिन बताउँदै आएको छ ।

प्रतिक्रिया