सामूहिक आत्महत्याको घटना : आर्थिक संकटपछिको निर्णय
काठमाडौँ । काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जनाले आत्महत्या प्रयास गरे । तीमध्ये एक जनाको मृत्यु भइसकेको छ । अन्य चार जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था गम्भीर छ ।
परिवारका सबै सदस्यले आत्महत्याको बाटो रोज्नुको कारण चरम आर्थिक संकट र स्वास्थ्य समस्या देखिएको छ । उनीहरूको घरबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । जसमा चरम आर्थिक संकटमा परेको, श्रीमान् मानसिक रोगसँग लडिरहेको, सासुआमा क्यान्सरसँग गुज्रिरहेको उल्लेख गरेका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले चरम आर्थिक संकटबाट मुक्ति पाउन आत्महत्या गर्न लागेको देखिएको बताए । नागार्जुन नगरपालिका ६ रामकोटस्थित डाँडापौवाका ३८ वर्षीय भीममान प्रधान, उनकी श्रीमती ३५ वर्षीया मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिया प्रधान, ६२ वर्षीया आमा इन्दिरामाया प्रधान र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार विष सेवन गरेका थिए । उनीहरूमध्ये सुवर्णमानको उपचारका क्रममा मृत्यु भइसकेको छ । चार जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
‘हामीले सुसाइड नोट फेला पारेका छौँ, त्यसबारे अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी गिरीले भने, ‘परिवार चरम आर्थिक संकटमा देखिएको छ । श्रीमान् डिप्रेसनको सिकार भएको, सासूआमा क्यान्सर रोगी, उपचार पनि गराउने नसक्ने देखिएपछि आत्महत्याको बाटो रोजेको देखियो ।’
आत्महत्या गर्न लाग्नुको कारणबारे थप अनुसन्धान भइरहेको भन्दै एसएसपी गिरीले भने, ‘आर्थिक संकटमा पर्नुमा गोर्खाली सहकारी संस्था, डिप्रेसनको सिकार, क्यान्सर रोगसँग लड्नु जस्ता कारण देखिएका छन् ।’
स्वास्थ्य अवस्था अस्थिर
चारै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । स्वास्थ्य अवस्था अस्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मन्दिराको अवस्था अलिकति सुधारोन्मुख देखिएको छ । तर, डाक्टरले खतरामुक्त भनेका छैनन् ।
‘मन्दिराले आँखा खोल्नु भएको छ, तर आउट अफ डेन्जरभन्दा डाक्टरले, ‘कान्ट से’ भन्नु भएको छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी गिरीले भने । उपचाररत सबैको अवस्था अहिले अस्थिर रहेको उनको भनाई छ ।
सुसाइड नोटले खुलेको रहस्य
घटना स्थलबाट प्रहरीले ‘सुसाइड नोट’ बरामद गरेको थियो । आत्महत्या गर्ने उपाय निकाल्नेमा भीममान र उनकी श्रीमती मन्दिरा देखिएका छन् ।
ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकेको उल्लेख गरेका छन् । सहकारीले ऋण तिर्न पटकपटक ताकेता गरेको थियो । तर, तिर्न नसकेको र सहकारीले पछिल्लो समय मानसिक यातना दिनुका साथै धम्क्याउनेसमेत गरेकाले आत्महत्या गर्न बाध्य भएको ‘सुसाइड नोट’मा उल्लेख गरेका छन् ।
मन्दिरा सहकारीका काम गर्दै आएकी थिइन् । कोभिड १९ का कारण अफिसमा उपस्थित हुन नसक्दा विभिन्न आरोप लगाएर मुद्दा चलाउने धम्की दिँदै आएको नोटमा उल्लेख छ । धम्कीपछि त्यहाँ उपस्थित हुँदा चार घन्टासम्म मानसिक यातना दिएको र प्रहरी वृत्त, जनसेवामा पनि लगेको नोटमा उल्लेख गरेकी छन् । उक्त नोटमा भीममान र मन्दिरा दुवैले हस्ताक्षर गरेको प्रहरी प्रमुख एसएसपी गिरीले बताए ।
उनीहरू पाँचै जना सोमबार राति साढे ९ बजे अर्ध बेहोसी अवस्थामा भेटिएका थिए । उनीहरूको तत्काल उद्धार गरेर अस्पताल लगिएको थियो । उपचारका क्रममा सोही राति नै सुवर्णमानको मृत्यु भएको थियो ।
सुसाइड नोटमा क्यान्सर रोगबाट पीडित आमाको उपचार गराउन सक्ने अवस्था नरहेकोसमेत उल्लेख गरेका छन् । त्यस्तै, भीममानले मानसिक रोगको औषधि सेवन गर्दै आएकोसमेत उल्लेख गरिएको छ । जसले गर्दा घरमा मन्दिरामा मात्र कमाउने र दिनप्रतिदिन ऋणमा डुब्दै गएका थिए । सोही कारण उनीहरूले सामूहिक आत्महत्याको बाटो रोजेको देखिन्छ ।
घटना स्थलमा देखिएको सेल्फास नामक किटनाशक औषधिको तीन थान खाली प्याकेट बरामद गरिएको थियो । त्यस्तै, राटिल नामको किटनाशक औषधिसमेत दुई वटा खाली बट्टा, चाकोर नामक किटनाशक औषधिको नखोलेको एउटा बट्टा र सफारे नामको किटनाशक औषधिको नखोलेको दुईवटा बट्टा भेटिएको प्रहरीले जनाएको छ । प्लास्टिक, वाइन र ह्विस्कीको बोतलमा घोलेर राखेको विष प्रहरीले बरामद गरेको थियो ।
सिकार बनिन् अबोध बालिका
११ वर्षीया छोरी सुप्रिया बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटमा कक्षा ६ मा अध्ययन गर्दै आएकी छन् । पढाइमा अब्बल उनी अन्ततः आमाबुबाको गलत निर्णयको सिकार बनिन् ।
अहिले भेन्टिलेटरमा मृत्युसँग संघर्ष गरिरहेकी छन् । भेन्टिलेटरमा उपचाररत सुप्रियाको अवस्थामा गम्भीर रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी गिरीले बताए ।
‘आमाले अहिले आँखा खोल्नु भएको छ, तर ११ वर्षीया छोरी होसमा छैनन्, उनको अवस्थाबारे डाक्टरले पनि तत्काल केही भन्न नसकिने बताएका छन्,’ एसएसपी गिरीले भने ।













यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया