सोमबार, माघ १२, २०८२

बार्गेनिङ पत्रकारिताविरुद्ध जाग्यो काउन्सिल

अध्यक्ष बस्नेत भन्छन्- दुरुपयोग नगरौं

नरेन्द्र रौले २०७८ चैत १७ गते १५:२६


काठमाडौँ । गत पुस २५ गते प्रेस काउन्सिल नेपालको एउटा विज्ञप्तिले निकै बजार ततायो । मिडिया सेक्टरमा निकै सनसनी ल्यायो ।

त्यो विज्ञप्तिमा कतिपय मिडियाले विज्ञापनको लागि ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार लेख्ने गुनासाहरू बढेकोतर्फ प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख थियो ।

पछिल्लो समय कतिपय सञ्चार माध्यम तथा सम्बद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरे तथ्यहीन तथा आधारहीन समाचार आएको भनि गुनासाहरू आएको भन्दै काउन्सिलले उजुरी दिन अपिल गरेको थियो ।

विज्ञप्तिमा कतिपय सञ्चार माध्यम एवम् सम्बद्धबाट हुने त्यस्ता क्रियाकलाप प्रचलित कानुन, पत्रकार आचार संहिताविपरीत भएको र पत्रकारिताको दुरुपयोग भएको उल्लेख छ । समग्र प्रेसलाई धुमिल्याउने त्यस्ता गतिविधि नगर्न र नगराउन तथा हुन नदिनेतर्फ सजगता अपनाउन काउन्सिलले सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएको थियो ।

राम्रो काम गर्ने मिडियालाई पुरस्कार, गलत गर्नेलाई कारबाही गर्ने नेपालका मिडियाको सर्वोच्च अदालत सरह रहेको प्रेस काउन्सिलको यो अभियानलाई प्राय: सबैले स्वागत गरे ।
यहाँ सबै मिडियाले भन्न खोजेको होइन । कतिपय पत्रकार, मिडियाहरूले पैसाका लागि समाचारमा बार्गेनिङ गरेको खुबै सुनिन्छ । केही खराब प्रवृत्तिका कारण पत्रकारहरूले बार्गेनिङ गर्छन् भन्ने धारणा बन्नु राम्रो होइन ।

समाजमा झाँगिदै गएको यस्तै धारणालाई चिर्न, सहीलाई सही र गलतलाई गलत नै भन्न प्रेस काउन्सिल मसिनो ढंगले काम गरिरहेको बुझिन्छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत भन्छन्, ‘कसैले बार्गेनिङ गर्‍यो भन्ने होइन, कहाँ कसले गरिरहेको छ तथ्य, प्रमाणसहित आउनुहोस्, काउन्सिलले उचित न्याय दिने छ ।’

नयाँ नेतृत्व आइसकेपछि काउन्सिलले नेपाली मिडियामा शुद्धिकरण ल्याउन यस्ता निकै कामको थालनी गरेको छ । आफै पनि मिडियामा लामो समय अनुभव बटुलिसकेका पत्रकार हुन्, अध्यक्ष बस्नेत । त्यही अनुभव र ज्ञान काउन्सिलका लागि उपयोगी भएको छ । उनले आफ्ना बोर्ड सदस्य र सानो आकारमा रहेको कर्मचारीको साथ लिई मिडिया क्षेत्रमा केही नयाँ काम गरिरहेका छन् । ६ महिनायता काउन्सिलले चालेका कदम हेर्दा सकारात्मक रफ्तार लिएको पाइन्छ ।

चाहे लापारबाहीका कारण ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको विषयमा सिभिल अस्पतालका डाक्टर, कर्मचारीमाथि छानबिन गराउन होस्, हुबहु सार्ने पत्रकारिताको विकृति रोक्ने काम । पछिल्ला दिन प्रेस काउन्सिलको काम चर्चा गर्न लायक देखिन्छ ।

कपी पेस्ट गर्नेलाई कारबाही

मिडिया सञ्चालकहरूले सबैभन्दा हैरानी खेप्नु परेको विषय हो, कपी पेस्ट । अनलाइनहरूमा सबैभन्दा बढी समस्या भनेकै यही छ । ठूला लगानी र ठूलो टिम बनाएर अनलाइन सञ्चालन गर्नेहरूले त झन् समस्या व्यहोरिरहेका छन् । यस्तो अवस्थामा काउन्सिलले पत्रकारितालाई आचार संहिताको डोरीभित्र बाँध्ने प्रयास गरेको छ । कुनै अनलाइनको समाचार हुबहु कपी पेस्ट गर्नेलाई माफी मगाउनेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही थालेको छ ।

यदि, वर्गीकरणमा परेको पत्रिका छ, त्यसमा कपी पेस्ट गरिएको सामग्री भेटियो भने त्यसलाई कम नम्बर दिइने छ । ‘यो विकराल रोग थियो, पत्रकार आचार संहिताका आधारमा कडा नियमन थाल्यौँ,’ अध्यक्ष बस्नेतले भने, ‘पत्रकार आचार संहिताबारे जागरण कार्यक्रमलाई अभियानकै रुपमा लियौँ, नयाँ पुस्ताले पनि बुझ्ने मौका पाए ।’ आचारसंहिता उल्लंघन हुँदा समाजमा प्रश्न उठेको छ । बहस जन्मिएको छ । उल्लंघन गर्ने मिडियालाई कारafही गरेर काउन्सिलले जवाफ दिने प्रयास गरेको छ ।

अनलाइनमा निगरानी

पहिले दर्ता भइसकेका अनलाइनको अघि-पछि वा बीचमा कुनै अंक वा अक्षर राखेर मिल्दोजुल्दो नामको अनलाइन चलाउने प्रवृत्ति व्यापक थियो । बस्नेत काउन्सिलमा पुग्नासाथ त्यस्ता अनलाइनलाई सूचीकरण गर्ने काम बन्द गराए । नयाँ नाम राख्न सञ्चालकहरूलाई काउन्सिलले आग्रह गर्न थाल्यो । काउन्सिलको यो कामलाई सबैले प्रशंसा गरे । र, साथ पनि दिँदै आएका छन् ।

अहिले एक सयभन्दा बढी अनलाइनहरूले अर्को नाम खोजेर बसेका छन् । यसले गर्दा अनलाइनको नाम तोडमोड र चोरी हुने क्रम रोकियो । त्यस्तै, सूचना तथा प्रशारण विभागमा दर्ता र प्रेस काउन्सिलमा सूचिकरण नभई थुप्रै अनलाइन सञ्चालन भइरहेका थिए । अहिले पनि झुक्क्याएर सञ्चालन भइराखेकै छन् । दर्ता नभएका त्यस्ता अनलाइनलाई बन्द गराउन काउन्सिलले सक्रियता देखाइरहेको छ ।

दर्ता नगरी चलेका, जथाभावी विषयवस्तु दिने अनलाइनलाई नेपालभित्र खुल्न नसक्ने बनाउन दुरसञ्चार प्राधिकरणसँग समन्वय गरेर काम गर्दै आएको छ । अनलाइनलाई विशेष मापन गर्ने काम पनि काउन्सिलमा हुँदैछ । सन्तुलित र विश्वसनीय समाचार दिने, आचारसंहिता पालना गरे, नगरेको आधारमा मापन गर्ने चुनातीपूर्ण काममा काउन्सिलले हात हालेको छ ।

अनलाइनको वर्गीकरण नयाँ काम पनि हो । कुन अनलाइन राम्रा, कुन अनलाइनले गुणस्तरी सामग्री प्रकाशन गर्छन्, कसले जथाभावी लेख्छन् ? कुन अनलाइन स्वतन्त्र छन् ? अब यो कुरा पाठकहरुले सजिलै थाहा पाउने छन् । अध्यक्ष बस्नेतका विचारमा यस प्रकारको वर्गीकरणले अडियन्सलाई मात्र होइन विज्ञापनदातालाई समेत सहज बनाउँछ ।

पत्रकार आचार संहितालाई थारु, नेपाली, अंग्रेजी, भोजपुरी, मैथिली, डोटेली भाषामा प्रकाशन गरिएको छ । यसरी अनुवाद गरिएको कामले सचेतना, जागरण फैलाउन मद्दत पुगेको छ ।

युट्युवलाई नियमन

प्रेस संग्रहालय बनाइने

इतिहासदेखि भएका, उपलब्ध छापाखाना, प्रेससँग सम्बन्धित सामग्रीहरू संकलन गरिँदै छ । ती सबैलाई एकै ठाउँ राखेर संग्रहालय बनाइदै छ । यस कामका लागि सञ्चार र अर्थ मन्त्रालयलाई आवश्यक पर्ने बजेटको माग पनि भएको छ । नेपाली मिडिया र छापामा प्रयोग हुने सामाग्रीको संग्रहालय आफैमा नौलो काम हो ।

सन्तुलित भूमिका निभाउँदै काउन्सिल

पत्रिका वर्गीकरण वैज्ञानिक र मापदण्ड छ । जसले गर्दा कुनै विवाद खेप्नु परेको छैन । विगत दुई वर्षयता रोकिएको कामले गति लिदै छ । यसपालि एक लाख ५१ हजार रुपैयाँ राशीको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रदान गरियो ।

नेपाली मिडियाका पायोनियर व्यक्ति छनौटबाट अध्यक्ष बस्नेतले परिपक्वता देखाएको भन्दै गत असोजमा प्रशंसा भएको थियो । मिडिया विकास कोषबाट दिइने अनुदान, तालिम जस्ता छनोटका काममा निष्पक्षता दिइएको छ । सबै प्रदेशको प्रतिनिधित्व र समावेशितालाई आधार बनाइएको छ ।

सामाजिक सञ्जालको प्रयोग

पत्रकारले सामाजिक सञ्जालको प्रयोग गर्दा बढी विवेक प्रयोग गर्नु पर्नेमा काउन्सिलका अध्यक्ष बस्नेत जोड दिन्छन् । पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत बुँदा नम्बर ६ को ३ मा लेखिएको छ, ‘सामाजिक सञ्जाललाई तथ्यपूर्ण तरिकाले प्रयोग गर्दै सूचना सम्प्रेषण गर्ने माध्यमका रुपमा विश्वसनीय बनाउनु पर्छ, सञ्चारकर्मी बढी जिम्मेवार बनी सामाजिक सञ्जालको प्रयोग गर्नु पर्छ ।’

आफूले लेखेको समाचार सही र विश्वसनीय हो भन्ने जनमानसलाई बनाउन सञ्चारकर्मीलाई चुनौती छ । पत्रकारले नभएको कुरा लेख्दैनन् भन्ने बनाउन सामाजिक सञ्जालमा समेत जथाभावी लेख्न नहुने सुझाव बस्नेत दिन्छन् ।

समन्वयकारी भूमिका

प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रेस काउन्सिलले भूमिका खेल्छ । सरकार, विभिन्न पत्रकार संगठन, नेपाल पत्रकार महासंघसँग समन्वय गरेर बस्नेत अगाडि बढिरहेका छन् । देशभरि कार्यक्रम गर्दा पनि यिनै संगठनसँग सल्लाह, सुझाव र समन्वय गरेर कार्यक्रम गर्दै आएका छन् ।

पत्रकारको हकहितका लागि उनी लडेका मान्छे हुन् । पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा रहिसकेकाले छेवैमा रहेको महासंघसँग कसरी समन्वय गर्नुपर्छ भन्ने उनलाई राम्रो ज्ञान छ । महासंघका अध्यक्ष विपुल पोखरेलसहित पदाधिकारीसँग उनको मित्रवत व्यवहार छ । हत्तपत्त कसैलाई नचिढ्याउने, नरिसाउने बस्नेतको बानीले समन्वयकारी भूमिकामा उनलाई सफल तुल्याएको छ ।

बस्नेत आफै पनि वकिल हुन् । त्यसकारण उनलाई काम गर्न सहज भएको छ । काउन्सिलमा बस्दा उनलाई इजलासमा बसे जस्तै भएको छ । कुनै विषयमा उजुरी परेपछि पीडित पक्ष र सरोकारवाला पक्षसहित इजलास खडा हुन्छ । काउन्सिलले सक्रियता देखाएपछि उजुरी पनि थपिएका छन् । स्रोत, साधन सिमित भएको ठाउँमा बसेर काम गर्नु पर्ने अवस्था छ ।

देश घुमेर फर्किंदा

अध्यक्षको जिम्मेवारी बहन गरिसकेपछि बस्नेत सुदूरपश्चिको अछाम, कर्णाली र पूर्वमा सोलु, ताप्लेजुङसम्म पुगे । उनले आचार संहिता जागरणका विभिन्न कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाउने काम गरे । नजिकबाट उनले देशको वास्तविक मुहार चिन्ने मौका पनि पाए । देशभर श्रमजिवी पत्रकार समस्यामा छन् । पत्रकार र पत्रकारिताको अवस्था एकदमै निरासाजनक छ । ‘समाजले पत्रकारप्रति त्यति धेरै विश्वास नगरेको पाइयो,’ उनले सुनाए, ‘राम्रा पत्रकार उत्पादन गर्न सरकार र मिडिया हाउसले लगानी थप्न जरुरी छ ।’

देश घुमेर राजधानी फर्किएपछि बस्नेतको मनमा थुप्रै प्रश्नहरू जन्मिएका छन् । पर्याप्त अध्ययन र अनुभवबिना पत्रकारले कसरी राम्रो समाचार दिन सक्छन् ? नया पुस्ताका लागि तालिम र अवसर खै ? पत्रकारलाई राम्रो पारिश्रमिक खै ? कोरोनाको चपेटामा काम गर्नु पर्दा मिडियाले अतिरिक्त कुनै सुविधा छ ? यसबाहेक छापा पत्रकारिताको हालत खराब हुँदैछ । अनलाइन मिडियामा थोरै जनशक्तिले काम गर्नु परेको छ । यस्तो अवस्थामा सरकार र मिडिया हाउसले बजेट र तालिम प्रदान गर्नु पर्नेमा उनले जोड दिए ।

अध्यक्ष बस्नेत २०५२ साल यता पत्रकारितामा क्रियाशील छन् । कान्तिपुर दैनिकमा मात्र उनले २० वर्ष काम गरे । पत्रकारका समस्या, दुःख उनले राम्री बुझेका छन् । यसले गर्दा उनलाई काम गर्न सहज पनि भएको छ । प्रेस काउन्सिलको अध्यक्ष र पत्रकार हुनुमा भने फरक छ । पहिले समाचार लेखे मात्र पुग्थ्यो । समाचारको ज्ञान भए पुग्थ्यो । अहिले देशभरकाा पत्रकारका समस्या बुझ्न, समस्या केलाउन र समस्या समाधानका लागि पहल गर्नुपर्छ । ‘पहिले दिनहुँ समाचार लेख्नुपथ्र्यो । अहिले समाचार लेख्नेहरूको हितमा काम गर्ने निकायमा बसेर काम गर्नुपर्छ । धेरै त नीतिगत काम हुन्छ,’ उनले सुनाए, ‘अग्रज पत्रकारहरुले सहयोग र उचित सल्लाह दिइरहनु भएको छ ।’

लामो समय मिडियामा काम गरेकोले सबैजसो सम्पादकहरूसँग बस्नेतको व्यक्तिगत चिनाजानी र गहिरो सम्बन्ध छ । जतिबेला उनले कान्तिपुरमा बसेर काम गरे, अहिले तिनै सहकर्मीहरू सबैजसो मिडियामा सम्पादक छन् । यसले गर्दा उनलाई सहज भएको छ । तर, प्रेस काउन्सिलमा अझै बस्नेतका अगाडि साढे तीन वर्षको कार्यकाल बाँकी नै छ । उनले सोचेका र आँटेका काम कति पूरा हुन्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ सुरु गरेको छ । कार्यक्रमअन्तर्गत नयाँ दर्ता अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचार संहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो । अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखीकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।

अनलाइन र युट्युबका नाममा बढ्दो बेथिति रोक्न काउन्सिललाई थप बलियो बनाउनु पर्ने, मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनु पर्ने अध्यक्ष बस्नेत बताउँछन्, ‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन सोच विचारका साथ लागिरहेका छौं ।’

प्रेस काउन्सिल नेपालले ‘सञ्चारगृहमा प्रेस काउन्सिल’ कार्यक्रमलाई अगाडि बढाएको छ । यसअगाडl राजधानी राष्ट्रिय दैनिक केन्द्रीय कार्यालय अनुगमन गरिसकेको छ । ‘सञ्चार क्षेत्रले भोग्नु परेका समस्या र समाधान’ विषयमा छलफल गरेको थियो । सम्पादन तथा व्यवस्थापकीय नेतृत्वसँग छलफल गरेको थियो । पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने आचार संहिता’ बारे काउन्सिलले ध्यानाकषर्ण गर्ने गरेको छ ।

बस्नेतले विशेषगरी पछिल्लो समय अनलाइनले आचार संहिताविपरीतका कार्य गरेकाले उनीहरूमाथि कडाई गरेको स्पष्ट पारेका छन् । पछिल्ला दिन आचार संहिता उल्लंघन गर्नेमाथि काउन्सिल केही कठोर भइरहेको बताउँदै बस्नेतले सबै सञ्चारगृह र सञ्चारकर्मीसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

‘सबैले आचारसंहिता पालना गर्नसके पत्रकारितामा देखिएका विकृति स्वत: कम भएर जाने र पत्रकारिताप्रति आमविश्वास बढ्ने विश्वास छ,’ बस्नेतले भने ‘यसमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्छ ।’ यत्ति भन्न सकिन्छ, अनुभवी यी युवा अनुहारबाट प्रेस काउन्सिल र सिंगो नेपाली मिडियाले केही न केही सकरात्मक परिवर्तन अवश्य पाउने छ ।

प्रतिक्रिया