प्रधानमन्त्री देउवा पाँचौं पटक आज भारत भ्रमणमा जाँदै, यो भ्रमण अहिलेसम्मकै छोटो
यस्तो छ देउवाको भारत बसाईको कार्य तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आज निस्कदैछन् । प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमणमा निस्कन लागेका हुन् । देउवाको प्रधानमन्त्री भएपछिको औपचारिक भारत भ्रमण यो पाँचौं पटक हो ।
चार वर्षअघि राजकीय भ्रमणमा भारत निस्केका देउवाको यसपटक औपचारिक भ्रमण हुँदै छ । देउवा पहिलो पटक प्रधानमन्त्री बनेपछि वि.स.२०५२ साल माघ २८ देखि फागुन ५ गतेसम्म सात दिने भारत भ्रमणमा निस्केका थिए । जुन उनको पहिलो औपचारिक भारत भ्रमण थियो ।
पाँच वर्षपछि दोस्रो पटक वि.स. २०५८ साल चैत ७ देखि १२ गतेसम्म दिल्ली भ्रमण गरेका थिए । त्यो समयमा ६ दिनको भारत भ्रमणमा निस्केका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेपछि वि.स.२०६१ साल भदौं २३ देखि २७ गते भारत भ्रमण गएका थिए । त्यस समयमा ५ दिन भारत भ्रमणमा निस्केका थिए ।
भने चौंथो पटक वि.स. २०७४ भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा निस्केका थिए । उनको त्यो समयमा ५ दिनको भारत भ्रमण थियो । आज अर्थात वि.स.२०७८ चैत्र १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा निस्कदैछन् । जुन तीन दिनको छ । प्रधानमन्त्री देउवाको औपचारिक भारत भ्रमण अहिलेसम्मकै छोटो हो ।
यस्तो देउवाको भारत बसाईको कार्य तालिका
प्रधानमन्त्री देउवा आज अपराह्न २.५० बजे भारतको दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न ४ ३० मा विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आजै प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालय आइटिओमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ । तर, देउवाले प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस र अन्य प्रतिपक्षी नेताहरूसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम छैन ।
आज साँझ नेपाली राजदूतावासमा नेपालप्रति शुभेच्छा राख्ने भारतीय नेतासँग रात्रिभोजसहित प्रधानमन्त्री देउवाको सामूहिक भेटवार्ताको कार्यक्रम तय भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । त्यसपश्चात सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ ।
नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदको विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भइरहेको छ । शनिबार नै अपराह्न ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने छन् । बनारसबाट प्रधानमन्त्री देउवा अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया