मंगलबार, माघ १३, २०८२

सार्वजनिक यातायातमा न्युनतम भाडा २० रुपैयाँ पुग्यो

मेरोन्यूज २०७९ वैशाख २ गते ६:५८

काठमाडौँ । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ ।

नयाँ भाडादरअनुसार काठमाडौँ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० पुगेको छ । यसअघि न्यूनतम १८ थियो । न्यूनतम भाडा १८ भए पनि यात्रु २० तिर्न बाध्य भएको बताइएको छ ।

त्यस्तै, १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ भाडा तिर्नु पर्ने छ । यसैगरी, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति मिटरको भाडा १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा १३ कायम गरिएको छ ।

पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो ।

भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया