‘जनप्रतिनिधि रोज्ने कि पार्टी प्रतिनिधि ? तपाईंकै हातमा छ’ (भिडियोसहित)

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहबाट स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । त्यसैमध्येका एक हुन्, राजानन्द माण्डव्य । उनले काभ्रेको बनेपा नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । उनै, स्वतन्त्र उम्मेदवारसँग समग्र स्थानीय निर्वाचन र एजेण्डाका बारेमा मेरोन्यूजले गरेको संवादको अंश :
तपाईंलाई बनेपा नगरबासीले कसरी चिन्ने ?
मेरो नाम राजानन्द माण्डव्य । मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ३ काक्रेमा छ । म विगत लामो समयदेखि राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय झण्डा दिवसको संस्थापकका रुपमा कार्यरत छु ।
स्थानीय निर्वाचनमा तपाईंको उम्मेदवारी किन ? फेरि स्वतन्त्रमा उठ्नु भएको छ ?
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर करिब १२ हजारभन्दा बढी व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा १२ सयको हाराहारी मेयर पदमा छन् । त्यही जमातमा म पनि मिसिएको हुँ । यसभन्दा अघिका जनप्रतिनिधि भनाउँदा म प्रतिनिधिहरू अर्थात पार्टी प्रतिनिधिहरूको परिपाटी परिवर्तन गर्न उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारी जनताको सेवा र जनताको पक्षका लागि हो । किनभने यसअघिका मेयर तथा उपमेयर सबै पार्टीका प्रतिनिधि भए । उनीहरूले जनताका निम्ति काम गरेनन् । तर, पार्टीका लागि राम्रो काम गरे । हो, यसै परिपाटी परिवर्तन गर्न मैले उम्मेदवारी दिएँ । स्वतन्त्र रुपमा सबै जनताको सेवा गर्न मैले स्वतन्त्र उम्मेदवारी दिएको हो ।
तपाईं ठूला दलका उम्मेदवारको सामना गर्न सक्नु हुन्छ ?
०७४ सालपछाडि जनताले दलको विरोध गर्न थाले । जसका कारण हामी जस्ता मान्छेहरू दलको सिण्डिकेट तोडेर बाहिर निस्कियौँ । तर, जनताले पुरानै दलसँगको साँठगाँठ कायम राख्दै आएका छन् । त्यसकारण ठूला दलहरूको बीच लड्न गाह्रै छ, तर जित्छु भन्ने आशा पनि छ ।
तपाईंले जित्ने आधार के–के छन् ?
मेरो जितका आधार ठूला छैनन् । मैल जनताको सेवा गर्नु नै मेरो पहिलो आधार हो । जनताको आधारभूत आवश्यकता परिपूर्ती गर्नु मेरो एजेण्डा हो । जसमा शिक्षा, स्वास्थ्य, रोजगारी छन् ।
मैले मेरो प्रतिबद्धतामा बनेपा नगरमा जितेँ भने एक घर एक रोजगारीको व्यवस्था गर्छु । स्थानीय कृषिजन्य उत्पादनलाई औद्योगीकरणमा परिवर्तन गर्छु । आफ्नो स्थानीय क्षेत्रमा उत्पादन हुने सामाग्री सही सदुपयोग गरेर समग्र नगरबासीको सेवामा समपर्न गर्न सक्छु ।
प्रत्येक घरमा खानेपानी धाराको व्यवस्थापन गर्न सक्छु । त्यतिमात्र नभई उचित शिक्षा, स्वास्थ्यको व्यवस्थालगायत तमाम आधारभूत आवश्यकता जस्तै दमकल, एम्बुलेन्स प्रमुख एजेण्डामा राख्छु ।
तपाईंले जिते बनेपा नगरबासीले के फरक पाउछन् ?
मेरो एजेण्डा नै मेरो जितको आधार हुन् । मैले एक घर–एक धारा, एक गाउँ–एक उद्योग र रोजगारीको बारेमा पहिले पनि भनिसकेँ । मेरो जितपछि नगरपालिकाको मुहारभन्दा नगरबासीको मुहारमा परिवर्तन पाउँछन् । मैले निर्वाचनमा मेरो नारा समेत ‘जनताको लगानी जनताको मुनाफा’ छ ।
आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारमा बालेन शाहको मात्र चर्चा देखिन्छ, यसलाई कसरी लिनु हुन्छ ?
यतिबेला देशलाई चाहिएको हो कि काठमाडौँमा परिवर्तन चाहिएको हो ? यो प्रश्न जनतालाई पछिल्लो परिपाटी हेर्दा देशभरका मान्छेले स्वतन्त्र उम्मेदवार भनेको बालेन मात्रै हो भनेका छन् । तर, यहाँ त १२ औँ हजार जना ओझेलमा परेका छ नि ? हैन र ? धनगढीको मान्छेले ‘भोट फर बालेन’ भनेर के हुन्छ ? जबकी धनगढीकै स्वतन्त्र छायामा परेका छन् । तर, उनले कुनै समर्थन पाएका छैनन् ।
अब आयो चर्चाको कुरा, देशका जति पनि ठूलो अथवा राष्ट्रिय मिडियाहरू छन्, तिनीहरू सबै पछिल्लो समय बालेन र केशव शाहको पछि मात्रै लागेको देखिन्छ । टिआरपीका लागि जसरी बालेनको पछाडि लागेको देखिन्छ । यसले अन्य स्वतन्त्र उम्मेदवार ओझेलमा परेका छन् । के परिवर्तन काठमाडौँलाई मात्रै चाहिएको हो ? देशलाई चाहिएको होइन ? देशलाई चाहिएको हो भने देशभरका स्वतन्त्र उम्मेदवारहरूलाई किन ओझेलमा परियो ? देशभरका स्वतन्त्र उम्मेदवारहरु सबै दलीय सिण्डिकेट तोडेर निस्किन खोजेका हुन्, उनीहरू सबै रक्तबिज हुन् । यो रक्तबिजलाई ओझेलमा पारियो भने अर्कोपटक स्वतन्त्र उम्मेदवारी दिनेको संख्या घट्दो हुन्छ । बोल्दा यी कुराहरु तितो लाग्न सक्छ, तर सञ्चार माध्यमले एउटालाई काखा र अर्कोलाई पाखाको नियतले हेर्नु भएन । सबै स्वतन्त्र उम्मेदवारहरूलाई स्थान दिन सक्नु पर्छ ।
तपाईंलाई निर्वाचन आयोगले दिएको चुनाव चिन्ह चित्त बुझ्दो छ ?
मैले धारा चुनाव चिन्ह पाएँ । खुसी नै छु । तर, दुःखी पनि । किन भने दलीय सिण्डिकेट व्यक्तिमा मात्रै नभई निर्वाचन आयोगमा समेत जकडिएको देखिन्छ । किन भने निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिन ढिलाई गरेको छ ।
वर्षौंदेखि देखाइएको चुनाव चिन्हको अगाडि भर्खरै देखिएको चुनाव चिन्हले कसरी जनतासँग साक्षातकार गर्न सक्छ ? जस्तै देशका ठूला दल भनिएका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पार्टीले त पहिलेदेखि नै आफ्नो चुनाव चिन्ह देखाँउदै आएका छन् ।
हामी स्वतन्त्र उम्मेदवारले निर्वाचनअगाडि मात्रै चुनाव चिन्ह देख्न पाउँछौँ भने यो कहाँको न्यायोचित कुरो हो ? चुनाव चिन्ह ढिलाइ भएपछि निर्वाचन प्रचारप्रसारमा ढिलाइ हुन्छ । जसकारण हार्ने सम्भावना बढी हुन्छ । यसलाई हेर्दा निर्वाचन आयोगमा दलीय सिण्डिकेट झल्किन्छ ।
जाँदाजाँदै आफ्नो भोटरलाई के भन्नु हुन्छ ?
हाम्रोलाई होइन राम्रोलाई रोज्नुहोस् । पार्टीभन्दा व्यक्तिलाई रोज्नुहोस् । गलत बाटोमा हिँड्ने, भ्रष्टको बाटोमा हिँड्नेभन्दा राम्रो मान्छेलाई रोज्नुहोला । स्थानीय तहलाई दलभन्दा बाहिर निकाल्नु पर्छ ।
स्थानीय तहको जनप्रतिनिधि भएपछि जनप्रतिनिधि नै हुनु पर्छ । पार्टी प्रतिनिधि र मन प्रतिनिधि हुनु हुँदैन । पार्टी प्रतिनिधि रोज्ने वा जनप्रतिनिधि रोज्ने तपाईंकै हातमा छ ।















संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया