शनिबार, माघ १७, २०८२

३० प्रतिशत खेती योग्य जमिनमा मात्रै सिँचाई पुग्यो

मेरोन्यूज २०७९ वैशाख २४ गते १६:१८

काठमाडौँ । नेपालमा खेती योग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले खाद्यन्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे ।

निर्देशक भण्डारीले सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेती योग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराएका थिए । उनले भने, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाई छ, सिँचाई मन्त्रालयमा जाने पैसा सिँचाईको एरिया बढाउन होइन कि तटबन्ध निर्माणमा खर्च हुन्छ, यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाईको एरिया बढाउने काममा समस्या छ ।’

परिषदले हालसम्म ८० वटा वस्तु बालीका ७२३ जात विकास गरी कृषकको खेतबारीमा पुगेको जनाएको छ । त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा तीन महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएका भण्डारीले बताए ।

प्रतिक्रिया