बिहीबार, जेठ १, २०८२

पुस्तक वार्ता

पुस्तक लेख्न अनिदा रातहरु काटेको छु – पासाङ शेर्पा

मेरोन्यूज २०७९ जेठ १८ गते १९:०१

(पासाङ शेर्पा पेशाले हेयर स्टाइलिस्ट हुन् । लामो समयदेखी उनले अमेरिकालाई कर्मथलो बनाईरहेका छन् । न्युयोर्कको ज्याक्सन हाइट्समा बस्ने शेर्पा गीत, संगीत र साहित्यमा रुची राख्छन् । उनले लेखेको ‘नरोउ तिमी भन्छौ…’ बोलको गीतमा निखिता थापाको स्वर छ भने नायिका स्वस्तिमा खड्काले अभिनय गरेकी छिन् । ७६ लाख भन्दा धेरै भ्युज पाएपछि हौसिएका शेर्पा संगीत र साहित्यमा अझ कस्सिएर लागे । हालै मात्र उनको ‘कोरोना कथा’ पुस्तक प्रकाशित भएको छ । यसै सेरोफेरोमा रहेर शेर्पासँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी )

साहित्य लेखनतिर कसरी आकर्षित हुनु भयो ?
सन १९९७– ९८ तिर जब म कलेज पढ्दै थिएँ, अहिलेको जस्तो सामाजिक सञ्जालहरु पनि केहि थिएनन् । मलाई पढ्न खुब मन पथ्र्यो । पढ्ने भनेपछि पत्रिका लेख रचना जे पनि पढ्न भ्याइन्नथ्यो । पढ्दा पढ्दै लेख्नमा पनि रुचि जाग्यो । केही गीत कविताहरु लेख्ने कोसिस गर्दै थिएँ, त्यसैक्रममा मैले– तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ- बोलको गीत त्यतिबेलाका चर्चित संगीतकार मदन दिपदिमको संगीत र गायक लाक्पा शेर्पा स्वरमा रेकर्डिङ गराएँ ।


त्यो बजारमा आएपछि गीत राम्रै चलेको थियो । त्यसबाट म उत्साहित भएँ । र, त्यो गीत नै मेरो साहित्य जीवनको पहिलो खुड्किलो थियो । त्यसपछिका दिनहरुमा कछुवाको चालमै भए पनि केही गीतहरु लेख्दै गएँ । केहि वर्षअघि बजारमा आएको ‘नरोउ तिमी भन्छौ…’ बोलको गीतको सफलताले मलाई सिर्जना संसारमा लागिरहनु थप उर्जा मिल्यो ।

विदेशको व्यस्त जीवनमा पनि कसरी साहित्यमा समय मिलाउनु हुन्छ ?
इच्छाशक्ति नै सबैभन्दा ठूलो कुरा हो । र, त्यसपछि समय मिलाउनु नै हो । व्यस्त त स्वदेश विदेश जहाँ पनि हुन्छ नै । गीत, कविता लेख्नलाई खासै समय मिलाउनु नै पर्छ भन्ने लाग्दैन । जतिबेला पनि फुर्न सक्छ । तर, ‘कोरोना कथा’ पुस्तक नै लेख्दा भने मैले विशेष समय छुट्टाउनु परेको थियो । पारिवारिक जिम्मेवारी, कामको व्यस्तता जस्ता अनेक अड्चनले गर्दा दिउँसोको समय त्यति उपयुक्त थिएन । कतैबाट बाधा पनि नहुने, दिमागलाई विषयबस्तुमा केन्द्रीकृत गर्न पाउने जस्ता धेरै कुराले मलाई रातको समय उपयुक्त लाग्यो । यसरी लेख्नलाई रातको समय छुट्टयाएको थिएँ ।

तपाईलाई कुन कुराले लेख्न प्रेरित गर्छ ?
जीवनका भोगाईका अनुभुतिहरुले नै मलाई लेख्नमा प्रेरित गरिरहेको हुन्छ । मनभित्रको अटेसमटेस कुराहरु सञ्चित गर्न राम्रो माध्यम भएको छ साहित्य संसार । त्यसकारण पहिला रहरले लेखिन्थ्यो । तर, अहिले बाध्यताले लेखिन्छ ।

तपाईको मुल पेशा हेयर स्टलिस्ट हो । तर साहित्यमा कसरी आकर्षित हुनुभयो ?
मैले लेख्न थालेको भनेको म हेएर स्टाइलिस् हुनु र यसैसँग सम्बन्धित व्यवसायमा संलग्न हुनु भन्दा धेरै अगाडि देखि नै हो ।

हालै प्रकाशित नयाँ पुस्तक ‘कोरोना कथा’ मा के छ ? यो पुस्तक कसरी जन्मियो ?
कोरोना कथा संस्मरणात्मक अनुभुति हो । यो कृति कोरोनाकालको एउटा ऐतिहासिक दस्तावेज हुनेछ भन्नेमा म आशावादी छु । सुरुमा पुस्तक लेख्छु नै भनेर लेख्न थालेको चाहिं थिइनँ । लकडाउनको समयमा घरघरमा थन्किएको बेला के गरौं, कसो गरौं भइरहेको बेलाको अनुभवहरु कहाँ पोखौ कसलाई सुनाउँ जस्तै भइरहेको थियो । चौबीसै घण्टा व्यस्त रहने शहर कसरी एकाएक सुनसान भयो ? यस्ता दृश्यहरु कसरी शब्दमा उतारौं जस्तो भइरहेको थियो मलाई । भोगाइका अनुभवहरु, वरपर देखेका अनौठा दृश्यहरु शब्द-शब्दमा उतार्दै गएँ ।


लकडाउनपछि धेरै जनाका अनुभवहरु बुझें । अनि त्यसैलाई कापीमा उतारें । अन्ततः कोरोना कथा तयार भयो । कोरोना कथा समयको माग थियो । र, मैले लेखें । कोरोनाकालमा अनुभव गरेका अनुभुतिहरु नै पुस्तकमा उतारेको छु । यो नै पुस्तकको मुख्य विषय हो ।

‘कोरोना कथा’ कस्तो खालको पुस्तक हो ?
कोरोना कथा संस्मरणात्मक अनुभुति हो । यो कृति कोरोनाकालको एउटा ऐतिहासिक दस्तावेज हुनेछ भन्नेमा म आशावादी छु ।

कोरोनाकालमा तपाई न्युयोर्कमा हुनुहुन्थ्यो । यो पुस्तकमा नेपालीका मात्र कुरा छन् कि समग्र न्युयोर्कबासीका कथा समेटिएका छन् ?
कुनै समयमा महामारी कोरोनाको रोगको इपिसेन्टरको नामले चर्चित न्युयोर्कमा विगत लामै समयदेखि म परिवारसहित बस्दै आएको छु । न्युयोर्क आप्रवासी मैत्री शहर भएकोले यहाँ विभिन्न देशबाट आएर बसोबास गर्नेहरुको जमात अत्यन्तै ठूलो छ । परिवेश फरक होलान् । तर, महामारी कोरोना रोगले सबैलाई उस्तै पीडाहरु दिएर गएको छ । त्यसकारण अमेरिकन नेपाली बाहेक अन्य समुदायकाहरुको पनि अनुभवलाई समेट्ने कोसिस गरेको छु यो कृतिमा ।

कोरोनाको समयलाई सम्झेर पुस्तक लेख्न कत्तिको दुःख भयो ?
कोरोनाको कथा तयार पार्दै गर्दा धेरै उतारचढावहरू आए । कैयौं पटक अनिदा रातहरू कटाए“ । अनिदो भएर दिनको नियमित काममा जुट्नुपर्ने जिम्मेवारी त छँदै थियो मलाई । यसरी अथक मिहिनेतका साथ अगाडि बढ्दै जाँदा पुस्तकले एउटा स्वरूप लियो । पुस्तक तयार पार्दाको दौरानमा रमाइला क्षणहरूका साथै दुःख कष्टहरू धेरै भोगे तापनि वास्तवमा यसबाट मलाई धेरै किसिमको सन्तुष्टि मिलेको छ ।


यी सबै कुरा पुस्तकमा उतार्न पाएकोमा ठूलो भारी नै बिसाए जस्तो भएको छ । आलो घाउमा मलमपट्टी लगाए जस्तो भएको छ । एक अर्थमा भन्ने हो भने सन्तान जन्माएकी आमाको सुख, सन्तोष र तृप्ति मैले यो कृतिको सिर्जनापछि प्राप्त गरेको छु । अशान्त मनलाई शान्ति पाएको छु । वास्तवमै यो कार्य मेरा लागि थेरापी साबित भएको छ । पुस्तक तयार पार्न लगभग डेढ वर्ष जतिको समय लाग्यो ।

पुस्तक कहाँ पाइन्छ ?
नेपालमा रत्न पुस्तक भण्डार, काठमाडौं लगायत नेपालको सबै ठुला पुस्तक पसलहरुमा उपलब्ध छ । नपुगेको ठाउहरुमा पनि चाँडै उपलब्ध गराउने तयारीमा छौं । न्युयोर्कस्थित विभिन्न पसलहरुमा उपलब्ध छ । अन्य शहरहरुको पाठकहरु मागलाई मध्यनजर गर्दै चाँडै सम्भब भएसम्म उपलब्ध गराउने कोसिसमा छौं । चाँडै अमेजन र अन्य अनलाइन पसलतिर पनि राख्ने प्रयासमा छौं । ५६६ पेजको पुस्तकको बजार मूल्य नेपालमा ५ सय रुपैंयाँ र प्रवासमा २५ डलर राखेको छु । यो कृतिको आयबाट प्राप्त रकम आगामी दिनमा साहित्य, समाजसेवा र शिक्षामा समर्पण गर्ने योजना बनाएको छु ।


तपाईं सामाजिक, सांस्कृतिक, साहित्यिक धेरैतिर छरिएको हुनुहुन्छ । सिर्जना गर्न कसरी समय व्यवस्थापन गर्नु हुन्छ ?

सामाजिक र सांस्कृतिक विषय, एउटा असल मान्छेको दायित्व भित्र पर्छ । समय र परिस्थिति अनुसार समय मिलाउनै पर्छ । साहित्य मेरो रोजाईको विषय हो । ‘जहाँ ईच्छा त्यहाँ उपाय’ भनेको जस्तै समय मिलाउन खासै त्यस्तो समस्या छैन । कति समयमा समय र परिस्थितिसँग सम्झौता भने गर्दै जानु पर्छ । त्यो मैले गरेको छु ।

यो कृति तयार गर्दाको स्मरणीय कुनै प्रसंगहरु छन कि ?
त्यस्ता त धेरै छन् । तर, पुस्तकमा संकलित मध्ये, आमाको अधुरो सपना कथा तयार पार्दै गर्दा म धेरै भावुक भएको थिएँ ।

आउने दिनहरुमा कस्तो खालको सिर्जनाहरुमा कलम चलाउनु मन छ ?
जीवन स्मृतिको खात रहेछ । हिजोआज धेरै कुरा र प्रसंगहरुले सम्झना गर्ने थालेको छु । धेरै स्मृतिहरुको लहरले मलाई घच्घचाई रहेको हुन्छ । त्यसकारण सायद समय र परिस्थितिले साथ दिएमा नियात्रा लेख्ने मन लागिरहेको छ । हेरांै के हुन्छ ।

तपाईलाई मन पर्ने लेखकहरु को-को हुनुहुन्छ ?
मलाई सबै लेखक मन पर्छ । सबैको आ–आफ्नै लेख्ने शैली हुन्छ । तर, पछिल्लो समयमा ‘सोच’ पुस्तक पढेपछि मलाई कर्ण शाक्यको व्यक्तित्वबाट म प्रभावित भएको थिएँ ।

तपाईलाई मन पर्ने पुस्तकहरु ?
मैले पढ्न भ्याएको जतिको पुस्तकहरु प्रायः सबै राम्रै लाग्यो । तर, लिलबहादुर क्षेत्रीको ‘बसाँइ’ ले धेरै मन छोयो ।


आगामी दिनमा तपाईं कस्तो पुस्तक ल्याउने सोचमा हुनुहुन्छ ?
प्रवासको कथाहरु मसंग धेरै छन् । तर, अहिले नै यसै गर्छु भन्ने अवस्थामा छैन । समय र परिस्थितिले साथ दिएको खण्डमा अवस्य पनि केही गर्ने सोच छ । तर, अहिलेको लागि कसरी धेरै भन्दा धेरै पाठकहरुसम्म ‘कोरोना कथा’ पुगोस् भन्ने नै छ ।

तपाईं आवद्ध पासाङ डोल्मा फाउन्डेसनको आगामी लक्ष्यहरु के–के छन् ?
पासाङ डोल्मा फाउन्डेसन विशुद्ध सामाजिक कार्यको लागि खोलिएको संस्था हो । मैले विगतदेखि नै व्यक्तिगत रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष समाजमा सेवा सहयोगहरु पु¥याउँदै आएको थिएँ । अबको समयदेखि यसै पासाङ डोल्मा फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा सेवा-सहयोगहरु जारी राख्ने छु । पासाङ डोल्मा फाउन्डेसनले भविष्यमा समाजका साथसाथै साहित्यिक क्षेत्रमा पनि सेवा गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया