आइतबार, माघ २५, २०८२

मध्यरातमा मन्त्री फेर्ने अधिकार उपेन्द्र यादवलाई !

जसपामा अहिलेका मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अलग्गै तयारी

मेरोन्यूज २०७९ असार १४ गते ९:३१

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने भएको छ ।

सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले बताए ।

जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय भएको हो ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेका हुन् ।

यादवको यस्तो कदमप्रति डा बाबुराम भट्टराईको के प्रतिक्रिया आँउछ त्यो भने देखिन बाँकी नै छ ।

जसपाभित्र उपेन्द्र र वावुराम भट्टराईका वीचमा टसल पदैं आएको छ । भट्टराई उपेन्द्रले मात्रै लिने निर्णयसाग सन्तुष्ट छैनन । यादवले आफु पक्षको मात्र बैठकबाट गरेको निर्णय र निर्णय कार्यान्वयनमा चाल्ने कदमका बारेमा भट्टराईले कस्तो प्रतिक्रिया जनाउँछन त्यसले पनि जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद थप उत्कर्षमा पुग्न सक्ने देखिएको छ ।

प्रतिक्रिया