सोमबार, पुष १४, २०८२

काभ्रेमा दैनिक कोरोना संक्रमण दर बढ्यो

मेरोन्यूज २०७९ साउन ८ गते ९:१४

काठमाडौँ । काभ्रेमा दैनिक कोरोना संक्रमणदर बढिरहेको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा संक्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा आठ संक्रमित निको भएको जनाइएको छ । पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक-एक संक्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा. पुरुषोत्तम सेडाईंले जानकारी दिए । उनका अनुसार पछिल्लो दिनमा संक्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिने छ ।

यस्तै, नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक संक्रमित रहेका छन् । हाल जिल्लामा कूल ४२ मा संक्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा संक्रमण देखिएको छ । यसमध्ये १९५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया