बिहीबार, चैत ५, २०८२

बससेवाले कलंकीमा सुरू गर्यो अत्याधुनिक प्यासेञ्जर लाउञ्ज

मेरोन्यूज २०७९ कार्तिक २५ गते १८:०७

कठमाडौँ । नेपालमा अनलाइनमार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेञ्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलोपटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो । यात्रुहरुलाई आफू जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उद्देश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।

लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निशुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलोपटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । उनले भने, ‘सार्वजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित गरी बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन, बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ, देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्थित बन्दै जानेछ, चन्द्रागिरीका अन्य क्षेत्रमा यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ ।’

यस्तै, ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउनेमात्र नभएर सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताए । पछिल्ला दिनमा फुटपाथमा हिँड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरुको उदाहरण दिँदै उनले यात्रुको सुरक्षामा समेत लाउञ्जको ठूलो भूमिका हुने बताएका थिए ।

यसैगरी चन्द्रागिरी नगरपालिका १५ का वडाध्यक्ष घनश्याम लुइटेलले यात्रुलाई सहज हुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए । यस्तै, बससेवा डटकमका सीईओ पिआर खनालले भने, ‘हामीले सुरूदेखि नै आम यात्रुहरूलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएका छौँ, यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो, एकातिर सामानको सुरक्षा नहुने, धुलोले शरीरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेका हौँ, यस लाउञ्जले यात्रुहरुलाई सहज बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट काट्न सक्ने छन् । यात्रुहरुले बससेवाको मोबाइलमार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाइल बैंकिङ्गमार्फत समेत टिकट काट्न सकिने छ ।

प्रतिक्रिया