मंगलबार, माघ १३, २०८२

बैंकमा नक्कली सुन राखेर २४ लाख ऋण लिने युवा पक्राउ

मेरोन्यूज २०७९ कार्तिक २८ गते १९:१८

काठमाडौँ । नक्कली सुनका गहना बैंकमा धितो राखेर २४ लाख रुपैयाँ कर्जा लिने युवा पक्राउ परेका छन् । पर्वत कुश्मा नगरपालिका ३ घर भई पोखरा महानगर १८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनारले राष्ट्रिय वाणिज्य बैंकको पोखरा महानगर १७ बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र सोही महानगर ८ पृथ्वीचोक शाखाबाट सात लाख ४५ हजार रुपैयाँ गरी जम्मा २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएर साँवा ब्याज बुझाउन नआएपछि नक्कली सुन भएको खुल्न आएको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै, धितो राखेका उक्त गहना नक्कली सुनबाट तयार गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया